प्रहरी परिचालन गर्ने अधिकारकाे विषयमा गृहसचिव र प्रहरी प्रमुखकाे मत बाझियाे

 साउन १६, २०७६ बिहिबार १६:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आकस्मिकरुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मत बाझिएको छ । 

प्रहरी महानिरीक्षक खनालले आकस्मिकरुपमा प्रदेशमा पनि प्रहरी परिचालन गर्नुपरे त्यसको अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई दिनुपर्ने कानुनी व्यवस्था गर्न माग गरेपछि गृहसचिव राईले त्यसमा असहमति जनाउनु भएको हो । उहाँले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने तर्क पनि गर्नु भयो । 

सचिव राईले नेपाल सरकारको गृह मन्त्रालय वा प्रदेश सरकारले निर्णय गरेपछि मात्रै आकस्मिकरुपमा प्रहरी परिचालन गर्न मात्रै उपयुक्त हुने धारणा राख्नुभयो । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै गृह सचिव राईले आकस्मिकरुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने बताउनु भयो ।

यता, प्रहरी प्रमुख खनालले भने प्रहरी महानिरीक्षकले आकस्मिकरुपमा प्रहरी परिचालन गर्ने अधिकार नभए प्रदेशहरुमा आइपर्ने आपतकालको समाधान तत्काल नहुने अवस्था आउने तर्क गर्नु भएको थियो ।

विधेयकमा त्यस सम्बन्धमा स्पष्ट व्यवस्था नगरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिकरुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने माग गर्नु भएको थियो । उहाँले प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी लिने दायित्व पूरा गर्न पनि आकस्मिकरुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षलाई नै दिनुपर्ने पनि बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया