विद्युतीय सवारी साधन दर्ता र सञ्चालन निर्देशिका अन्तिम चरणमा छ: मन्त्री महासेठ

 साउन १६, २०७६ बिहिबार २०:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रियसभा सदस्यहरुले वातावरणमैत्री सवारी तथा यातायात नीति र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरु डाक्टर बिमला राई पौड्याल, राम नारायण विडारी र काली बहादुर मल्लले संयुक्त रुपमा ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै ‘नेपाल सरकारबाट लागू गरिएको वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१’ र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे हाे।

२०७५ साल कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारीसम्बन्धी काम गर्ने छुट्टै निकाय बनाउने गरी विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । अहिलेसम्म त्यस कार्ययोजना कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरुले सर्वसाधरणलाई अनुभूति हुनेगरी भएका काम कारबाहीको जानकारी पनि माग गरे ।

ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विद्युतीय सवारी साधन दर्ता र सञ्चालन निर्देशिका अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । उहाँले सयभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालन भइरहेको जानकारी गराउँदै राजधानी काठमाण्डौ भन्दा बाहिर मुलुकका विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

उहाँले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नेगरी सरकारले कार्ययोजना बनाइरहेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया