अवरुद्ध संसद सञ्चालन गर्न दलहरुले आन्तरिक छलफल गर्ने

 साउन १६, २०७६ बिहिबार १९:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अवरुद्ध संसद सञ्चालन गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्रै आन्तरिक छलफल गर्ने भएका छन् । 

सभामुख कृष्ण बहादुर महराले बिहीबार बोलाउनुभएको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु आ आफ्नै अडानमा कायम रहेपछि विकल्पबारे दलहरुले आन्तरिक छलफल गर्ने भएका हुन् । लामो समय सम्म बैठक अवरुद्ध हुँदा जनतामा गलत सन्देश जाने भन्दै सत्ता पक्षले संसद सञ्चालन गरी प्रतिपक्षी दलको मागबारे पनि छलफल गर्दे जाने प्रस्ताव अघि सारेको थियो ।

तर यस प्रस्तावमा प्रतिपक्षी दल सहमत नभएपछि थप छलफलका लागि संसद बैठक ४ दिन सम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आफूहरुको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभएपनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

सर्वदलीय छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सदन सञ्चालन गराउन सबै दल सहमत भएको र प्रतिपक्षी दलको मागका सम्बोधन तथा सदन पुन: सञ्चालनका विकल्पबारे थप छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो ।

समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पक्षमा नै आफूहरु रहेको बताउनुभयो ।

नेकपाका सांसद भीम रावले देशप्रति जिम्मेवार भएर समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेकपाका सांसद ह्दयेश त्रिपाठीले संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले सर्लाही घटनाबारे छानबिन गरिरहेकाले संसदले छुट्टै समिति बनाउन आवश्यक नपर्ने तर्क गर्नुभयो ।

नेत्र विक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले सदन अवरुद्ध गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया