नेतृत्व हाेइन व्यवस्था नै परिर्वतन गर्नुपर्छ: राप्रपा अध्यक्ष थापा

 साउन १८, २०७६ शनिबार १९:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभइ व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । 

शनिबार पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताउनुभएको हो । प्रमुख दलहरुले मुलुकलाई १३ वर्षदेखि गलत बाटोमा हिडाइँरहेको भन्दै उहाँले ‘बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । 

विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप थापाले लगाउनुभयो । उहाँले भन्नुभयो, 'आफूलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ, त्यसले स्वाभिमानपूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले १३ वर्षदेखी देशलाई हिडाइँराखेका छन्, त्यो बाटो नै गलत छ ।' 

'अहिले केपी ओलीलाई हटाएर प्रचण्ड वा शेरबहादुर ल्याएर यो देशको समस्याको समाधान हुँदैन । जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राइभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैन । बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन, बाटो नै फेर्नुपर्छ', उहाँले भन्नुभयो । 

अध्यक्ष थापाले राष्ट्र निर्माणको वैकल्पिक विचार र मार्गचित्र राप्रपासँग रहेको उल्लेख गर्दै धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताउनुभयो ।

उहाँले सर्वत्र मौलाउँदै गैरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिनुभयो ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया