‘सरकारले राजेन्द्र महतोको नागरिकता खारेज भनेर भ्रमको खेती गर्‍यो'

 साउन २०, २०७६ सोमबार १५:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले भ्रमको खेती सुरु गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

संसद बैठकमा नेता महतोले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमले गलत समाचार प्रकाशित गरेको विषयप्रति ध्यानाकर्षण जनाउँदै यसमा सरकारले नियतवश सार्वजनिक गरेको नामका कारण भएको बताउनुभयो ।

आइतबार सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सार्वजनिक गर्नुभएको थियो ।

त्यो निर्णय सार्वजनिक भएसँगै कतिपयले राजपाका नेता महतोको नागरिकता खारेज भएको भन्दै फोटोसहित समाचार प्रकाशित गरेका थिए ।

बैठकमा नेता महतोले सरकारका निर्णय सार्वजनिक गर्नेले वास्तविक तथ्य नभन्दा सरकारले नै भ्रमको खेती गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको बताउनुभयो ।

सरकारले यस्तो संवेदनशील विषय सार्वजनिक गर्दा, देश र दुनियाँलाई जानकारी दिँदा स्पष्टसँग कहाँ को–को मान्छे भनेर सबै भन्नु पर्नेमा नाम मात्रै भनेर भ्रम छर्न खोजेको उहाँको आरोप थियो । आफ्नो नामसँग मिल्ने व्यक्ति देशमा थुप्रै रहेको भन्दै त्यसबारेमा वास्तविक व्यक्तिको पहिचान नखुलाई नाम मात्र भन्नुले सरकारको नियतमाथि नै शंका रहेको उहाँले बताउनुभयो ।

नेता महतोले सञ्चारमाध्यमले पनि वास्तविकता नबुझी समाचार प्रकाशित गर्नु गैरजिम्मेवार भएको भन्दै यस्तो क्रियाकलाप रोक्न सरकारसँग माग गर्नुभयो । सरकार र मिडियाका कारण यसरी चरित्र हत्या गर्ने र मानहानी गर्ने काम बन्द गर्नुपर्ने माग उहाँले राख्नुभयो ।

‘कोही व्यक्ति कृष्णबहादुर महरा र पुष्पकमल दाहाल भन्ने पनि होलान् उनीहरु पक्राउ पर्दा सभामुख र कम्युनिष्ट पार्टीका अध्यक्ष भनेर नाम जोड्न मिल्छ’, उहाँले प्रश्न गर्नुभयो । सूचना दिनेले स्पष्टसँग दिनुपर्ने र सञ्चारमाध्यमले पनि जिम्मेवार भएर प्रस्तुत हुन आग्रह पनि गर्नुभयो । 

हेर्नुहाेस् मन्त्रिपरिषद् बैठककाे निर्णय

अन्तिम अपडेट: चैत ७, २०८०

2 Comments

  • MS Jwala

    Aug. 5, 2019, 5:09 p.m.

    सम्पुर्ण अंगीकृत नागरिकता (३६-लाख भन्दा बढी) खारेज गरे हुन्छ । यिनिहरुमा नेपाल लाई भारतमा गाभ्ने अभिप्राय छ । ``रअ´´ को भविष्य को योजना । तर नेपालिलाइ विभिन्न अन्य कुराहरुमा भ्रमित पार्दै ध्यान मोड्ने कुप्रयास भै रहेको छ ।

  •  0 Reply
  • p

    Aug. 5, 2019, 4:19 p.m.

    एस्ता पाखन्डि लाई के को तपाईं भन्न्दइ सम्बोधन गरिराखेका होला,

  •  0 Reply

तपाईको प्रतिक्रिया