म वातावरण विनाश गर्न आएको हैन, निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई

 साउन २२, २०७६ बुधबार १२:४२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढमा विश्वकै सुन्दर विमानस्थल निर्माण गरिने बताउनुभएको छ । 

बुधबार बिहान सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आफू निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको बताउनु भएको हो । उहाँले भन्नुभयो ‘म वातावरण विनाश गर्न आएको हैन, विमानस्थल बनाउन चासो राख्नेको स्वागत र सम्मान गर्छु तर कति रुख काट्ने भन्ने विस्तृत जानकारी नआएकाले अहिले नै धेरै कुरा गर्न आवश्यक छैन ।’

मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणका लागि अब लामो समय नलाग्ने  र लगानीको मोडालिटी फिक्स गर्न लगानी बोर्डलाई आग्रह गरिसकेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो ‘सन् २०१९ भित्र नै यसको शिलान्यास गर्ने हो ।’

मन्त्री भट्टराईले आफू मन्त्री बनेको एक हप्तामा यहाँको अवस्था बुझेको र अब कामको योजना बनाउँदै जाने पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले त्रिभुवन विमानस्थलको धावनमार्गको काम सम्पन्न भएर २१ घण्टा सञ्चालनमा आएको र ट्याक्सी वे निर्माणको काम डिसेम्बरसम्ममा सम्पन्न गर्ने बताउनुभयो । उहाँले बुटिक बनाउने काम पनि भइरहेको जानकारी दिनुभयो ।

साथै, उहाँले भैरहवा विमानस्थलको ७३ प्रतिशत काम सम्पन्न भएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया