पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगायाे

 साउन २४, २०७६ शुक्रबार ११:४८:५९ | एजेन्सी
unn.prixa.net

भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तान तनाव बढ्दो छ । 

जम्मू–कश्मीरको विशेष दर्जा खोसिएपछि पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल 'सम्झौता एक्सप्रेस' सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो । 

अहिले फेरि पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने, ‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ ।’

पाकिस्तानले भारतीय चलचित्रमा प्रतिबन्ध लगाएको याे पहिलो पटक भने होइन । यसअघि गएको फेब्रुअरीमा भारतले बालाकोटमा गरेको हवाई आक्रमणपछि पनि पाकिस्तानले यस्तै घोषणा गरेको थियो । 

भारत सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई पनि केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि पाकिस्तानले व्यापारिक र राजनीतिक सम्बन्ध सीमित गरेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया