अन्तिम ४ मिनेटमा ह्यारी केनले गरे २ गाेल, टाेटनह्यामले एस्टाेन भिल्लालाई ३-१ ले हरायाे

 साउन २६, २०७६ आइतबार ६:४१:४ | एजेन्सी
unn.prixa.net

ह्यारी केनले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा टोटनह्यामले यसै सिजन बढुवा भएको एस्टोन भिल्लाविरुद्ध ३–१ गोलअन्तरको जित निकालेको छ ।

लन्डनस्थित टोटनह्याम हट्स्पर रंगशालामा पाहुना टोली एस्टोन भिल्लाले अग्रता जोगाउन नसक्दा पराजित हुनुपर्यो । एस्टोन भिल्लाले अन्तिम १७ मिनेटमा ३ गोल खायो ।

पहिलो हाफको नवौं मिनेटमै एस्टोन भिल्लाले जोन म्याकजिनको गोलमार्फत अग्रता बनाएको थियो । उनले टाइरोन मिंग्सको पासमा गरेको प्रहार टोटनह्यामका गोलरक्षक ह्युगो लोरिसले बचाउन सकेनन् ।

टोटनह्यामले त्यसयता खेलमा निरन्तर दबाब दिइरह्यो । पहिलो हाफमै उसले गोलका आधा दर्जन अवसर गुमाएको थियो । 

७३ औं मिनेटमा टानगोए एनडोम्बेलेले बराबरी गोल नफर्काउँदासम्म टोटनह्यामले खेलमा निरन्तर आक्रमण जारी राखेको थियो । उनले लुकास मोउराको पासमा गोल गरेका थिए  ।

खेल सकिन ४ मिनेट बाँकी छँदा स्ट्राइकर ह्यारी केनले अग्रता दिलाए । त्यसको चार मिनेटपछि केनले नै व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्यामको जित निश्चित बन्यो । उनले मोउसा सिसिकोको पासमा गोल गरेका हुन् ।

शुक्रबारै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले वेष्टह्याममाथि ५–० को फराकिलो जित निकालेको थियो ।

टोटनह्याम गत सिजन प्रिमियर लिगको पाँचौं स्थानमा थियो ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया