बनारसमा श्री एअरलाइन्सकोे परीक्षण उडान

 साउन २७, २०७६ सोमबार २०:३१:५३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एअरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान सुरु गरेको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको बनारसमा सोमबार परीक्षण उडान गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० सिट क्षमताको सीआरजे २०० र ७० सिट क्षमताको सीआरजे ७०० जहाजबाट बनारस गन्तव्यको उडान भर्नेछ । उडान अनुमति पाएपछि भारतका अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने कम्पनीको योजना छ । श्री एअरलाइन्ससँग चार वटा दुई सीआरजे २०० र सीआरजे ७०० जहाज छन् ।

बनारसमा चार्डर्ड उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट श्री एयरलाइन्सले अनुमति पाएको थियो । यो परीक्षण उडानपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान उडान अनुमतिपत्र (एओसी) पाउनेछ ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि पर्यटन मन्त्रालयलाई निवेदन दिएको त्यही आधारमा परीक्षण उडान भरेपछि मन्त्रालयको प्रक्रिया पूरा गरी प्राधिकरणले एओसी दिने जनाइएको छ । एअरलाइन्सले व्यावसायिक उडान गर्नुपूर्व नियामक निकायको मापदण्डबमोजिम सक्षमता परीक्षण उडान गर्नुपर्ने हुन्छ ।

भारतका विभिन्न गन्तव्यमा उडान सञ्चालनका लागि ६ महिनाअघि अनुमति पाएको र त्यही आधारमा परीक्षण उडान गरिएको कम्पनीले उल्लेख गरेको छ । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान सुरु गरेको एअरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया