रोनाल्डो बने विश्वकै चौथो महंगो खेलाडी

 असार २७, २०७५ बुधबार ६:२८:५६ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् । 

युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न आग्रह गरेँ ।’

बार्सिलोनाबाट नेइमार तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो । नेइमारलाई २०० मिलियन पाउण्ड तथा एम्बाप्पेलाई १६६ मिलियन पाउण्ड तिरेरे पीएसजीले क्लबमा भित्र्याएको थियो । त्यस्तै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई भित्र्याउँदा लिभरपुललाई १४२ मिलियन पाउण्ड तिरेको थियो । 

अब फुटबलप्रेमी ४ अगस्टमा हुने युभेन्टस तथा रियल मड्रिडबीचको खेलको पर्खाइमा रहेका छन् । रोनाल्डोको नयाँ टिम युभेन्टसले उनको पुरानो क्लब रियलसँग अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड छोड्दै गर्दा रोनाल्डोले चिठीमार्फत भनेका छन्, ‘रियल मड्रिडले मेरो तथा मेरो परिवारको मन जितेको छ । यो नौ वर्षमा म कैयौँ महान खेलाडीहरुविरुद्ध खेलेँ । सबैलाई मेरो सम्मान छ ।’ राेनाल्डाेले हप्ताकाे पाँच लाख पाउण्ड पारिश्रमिक पाउने गरी युभेन्टससँग समझाैता गरेका छन् । 
 

३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् । 

रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई चौथो पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए । रियल मड्रिडले जिदानको ठाउँमा स्पेनका पूर्व राष्ट्रिय प्रशिक्षक जुलेन लोपेटेगीलाई नियुक्त गरिसकेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया