मेक्सिको: बलात्कारको घटना अनुसन्धानका क्रममा ६ प्रहरी अधिकारी निलम्बित

 साउन २९, २०७६ बुधबार २०:४३:५७ | एजेन्सी
unn.prixa.net

मेक्सिकोकाे राजधानी मेक्सिको सिटीमा यो महिनाको सुरुवातमा दुई जना किशोरीको बलात्कार घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी अधिकारीलाई निलम्बित गरिएको छ ।

न्यायको माग गर्दै ३०० मानिसहरु सडकमा उत्रिएको भोलिपल्ट मेयर क्लाउडियो शेनबामले यस्तो घोषणा गरेकी हुन् । प्रदर्शनमा सहभागी महिलाहरुले ‘उनीहरुले हामीलाई रक्षा गरेनन्, हाम्रो बलात्कार गरे’ नारा लगाएका थिए । 

पहिलो घटना गएको अगष्ट ३ तारिखका दिन एक १७ वर्षीया किशोरीले चार जना प्रहरीले बलात्कार गरेको बताएकी थिइन् । त्यस्तै दोस्रो घटनामा एक १६ वर्षीया किशोरीले पहिलो घटनाको केही दिनपछि एक जना प्रहरीले बलात्कार गरेको बताएकी थिइन् । 

गएको बिहीबार दोस्रो बलात्कारको घटनामा संलग्न भएको आशंकामा प्रहरी अधिकारीलाई पक्राउ गरिएको थियो । पहिलो बलात्कारको घटनालाई लिएर भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । 

‘दण्डहीनता हुने छैन र कुनै पनि किसिमको दोषारोपण हुने छैन’, मेक्सिको सिटीकी पहिलो महिला मेयर शेनबामले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै भनेकी छिन् । उनले ६ जना प्रहरी अधिकारीलाई किन निलम्बित गरियो भन्ने बारेमा केही बताएकी छैनन् । 

गएको सोमबारको प्रदर्शनलाई ‘उत्तेजक’ को संज्ञा दिएपछि विवादित बनेकी मेयरले अधिकारीहरुले शहरलाई ‘महिलाहरुको सुरक्षित ठाउँ’ बनाउने रणनीति कार्यान्वयन गर्न अधिकार समूहसँग काम गरिरहेको बताएकी छिन् । 

‘महिला र केटीहरुमाथि हुने हिंसा अस्वीकार्य छ । म यो सहन सक्दिन’, मेयरले भनिन् । साथै उनले महिला हिंसाविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया लामो भएको हुनाले त्यसलाई परिवर्तन गरिनुपर्ने बताएकी छिन् । 

मेक्सिकोमा महिलाविरुद्धको हिंसा व्याप्त छ र संयुक्त राष्ट्रसंघले दैनिक ९ जना मारिने गरेको आकलन गरेको छ । मेक्सिकोमा बलात्कारको घटना दर्ता गरिएको तथ्यांक कम छ किनभने पीडित समूह भन्छन्, ‘हामीलाई प्रहरीसँग कम विश्वास छ ।’

इंग्ल्याण्ड र वेल्समा प्रहरीले सन् २०१८/२०१९ मा झण्डै ६० हजार बलात्कारका घटना दर्ता गरेको छ भने मेक्सिकोमा यही अवधिमा ९ हजारभन्दा कम बलात्कारका घटना दर्ता भएका छन् ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया