घरेलु कामदारबारे बहुपक्षीय छलफल गरेर निर्णय लिइने

 साउन २९, २०७६ बुधबार १८:४२:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारबारे बहुपक्षीय छलफल गर्ने निर्णय गरेको छ । 

समितिको बुधबार बसेको बैठकमा बोल्ने धेरै सांसदहरुले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको सम्बन्धमा गृह तथा परराष्ट्र मन्त्रालयसमेत जिम्मेवार हुनुपर्ने विषय उठाएपछि समितिले बहुपक्षीय छलफल गर्ने निर्णय गरेको हो ।

समितिले श्रम मन्त्रालयसँगै गृह र परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग र संघीय संसदको महिला समितिसँग छलफल गर्ने भएको छ । 

घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको समस्या एकल नभएर बहुआयामिक भएको भन्दै बहुपक्षीय छलफलपछि मात्र निर्णय लिइने समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले बताउनुभयो ।

घरेलु काममा जोखिम भएको भन्दै समितिले नै खाडी लगायतका देशमा  घरेलु कामदार पठाउन रोकेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री गोकर्ण विष्टले घरेलु काममा रहेकाहरुलाई पुनः श्रम स्वीकृति दिने तयारी गर्नुभएको थियो ।

तर संसदीय समितिले बन्देज लगाएका कारण उहाँले आफ्नो निर्णय कार्यान्वयन गर्न सक्नुभएको छैन । बुधबारको बैठकमा मन्त्री विष्ट उपस्थित हुन नसकेपछि मन्त्रालयका सचिव महेश प्रसाद दहाल उपस्थित हुनुहुन्थ्यो ।

उहाँले वैधानिक बाटोबाट गएका र सम्मानपुर्वक काम गरिरहेका श्रमिकलाई मात्र भए पनि घर आउने बाटो खोल्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Purna babadur

    Aug. 14, 2019, 6:53 p.m.

    गुड येा काम छिटेा गर्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया