गोसाईंकुण्ड यात्रा : प्रकृति र संस्कृतिको अनुपम छटा

 साउन ३०, २०७६ बिहिबार ११:१:३९ | अशाेक काेइराला
unn.prixa.net

‘काठमाण्डौबाट नजिकै घुम्न जाने ठाउँ कतै छैन ?’

मोबाइलमा मेसेञ्जरको टुङ्ग आवाजपछि मैले मोबाइल हेरेँ । कमलको मेसेज रहेछ । 

मैले फटाफट रिप्लाइ दिएँ ‘यो समयमा घुम्न जाने हो भने उपयुक्त ठाउँ गोसाईंकुण्ड छ ।’

उसले मेसेज हेर्नु अगाडि नै मैले भनेँ ‘जाने हो त गोसाईंकुण्ड ?’

उसले सहमति जनाइहाल्यो । त्यसपछि गोसाईंकुण्डको यात्रा तय भयो । मैले भनेँ ‘अरु साथीहरुलाई पनि खबर गरौँ न !’

हाम्रो यात्रामा यसअघि पनि सँगै हुने साथीहरु ‘अमी, प्रदीप, महेश ।’

एकैछिनमा हामीले तीनै जनालाई खबर गर्‍याैँ, तीन जनामध्ये एक जना मात्रै हाम्रो यात्रामा सहभागी हुने पक्का भयो, अमी । 

अमीले यसअघि पनि गोसाईंकुण्ड यात्रा गरिसकेको रहेछ । उसले भन्यो, गोसाईंकुण्ड हामी कुन बाटो जाने ?

उसले हाम्रो लागि दुईवटा बाटो देखायो, एउटा थियो रसुवाको सदरमुकाम धुञ्चेसम्म गाडीमा जाने र उकालो लाग्ने, अर्को थियो सुन्दरीजलबाट चिसापानी हुँदै गोसाईंकुण्डसम्मको पदयात्रा ।

हामीले सुन्दरीजलबाट गोसाईंकुण्डसम्मको पदयात्रा निश्चित गर्‍याैँ । पहिला दिन सुन्दरीजलबाट बिहानै हाम्रो यात्रा सुरु भयो ।

वनजंगल । खोला । फाँटमा लहलह धानको हरियाली । झिसमिसेमै यो सुन्दरता नियाल्दै हामी सुन्दरीजलबाट झोला बोकेर उकालो लाग्यौँ । उकालो चढ्दै जाँदा हामी काठमाण्डौको बिहानीपखको दृश्य नियालिरहेका थियौँ । पूर्वतिरबाट सूर्यको धमिलो प्रकाशले काठमाण्डौको झिलिमिली मधुर बनाउँदै थियो । केही उकालो चढेपछि हामीले चिया पियौँ । 

चिया पिउँदै गर्दा अमीले हामीलाई सिकाउँदै थियो, ‘यात्रा गर्दा केहीबेर छिटो हिँडेर बस्नु हुन्न है ! बिस्तारै हिँडिरहनुपर्छ ।’ हामीले पनि उसका कुरामा सहमति जनायौँ । र फेरि उकाली लाग्यौँ । ठाडै उकालो बाटो । माथितिर हेर्दा नआत्तिने कोही थिएन । बिस्तारै हामीले यात्रा जारी राख्यौँ ।

स्टामिना त लास्टै घटेछ..’. निराश मुद्रामा कमलले भन्यो । मैले उतिर हेरेर फिस्स हाँसे । उसले पनि हाँसेरै प्रतिक्रिया दियो । हामी दुवैजनाको हिँडाइको गति सुस्त भइरहेको थियो ।

‘यो त सुरुवात हो, यस्ता डाँडा त धेरै पार गर्नु छ’ अमीले सम्झाउँदै भन्यो । हामी फेरि उकालोमा अलि कस्सिएर हिँड्न थाल्यौँ । करिब ६ घण्टाको यात्रापछि हामी चिसापानी पुग्यौँ । काठमाण्डौ, सिन्धुपाल्चोक र नुवाकोटको सिमाना । काठमाण्डौबाट नजिकै घुम्न जानेहरुका लागि उपयुक्त गन्तव्य । हामीले यहीँ बिहानको खाना खाने योजना बनायौँ । एउटा होटलमा छिरेर झोला बिसाएर हामी थचक्क बस्यौँ र खाना खाने जानकारी गरायौँ ।

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जले निकुञ्ज प्रवेश शुल्क वृद्धि गरेको रहेछ । होटलका साहु भन्दै थिए ‘निकुञ्जले प्रवेश शुल्कमा अत्याधिक वृद्धि गरेको छ । यसलाई कम गर्नका लागि हामीले पहल गरिरहेका छौँ । यस्तै, अवस्था हुने हो भने त यहाँ आउने पर्यटक घट्न सक्छन् । पछिल्लो समयमा चिसापानी आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य मात्रामा बढीरहेको छ । यसरी शुल्क बढाउँदै लैजाने हो भने कोही पनि आउँदैन ।’ उनले आक्रोश व्यक्त गरे । हामीले उनको कुरा ध्यानपूर्वक सुन्यौँ र सहमति जनाउँदै खाना खायौँ ।

खाना खाइसकेपछि हामीले रित्तो बोत्तलमा पानी भर्‍याैँ । हामी फेरि गन्तव्यतर्फ अगाडि बढ्यौँ । उकाली । ओराली । कहिले जंगलको बाटो त कहिले बस्ती । निरन्तर १२ घण्टाको यात्रापछि हामी कुटुमसाङ पुग्यौँ ।

कुटुमसाङ पुग्दा साँझको ६ बज्न लागिसकेको थियो । अघि बढ्ने समय थिएन । हामी बास बस्न होटल खोज्न थाल्यौँ । बाक्लो बस्ती । कुटुमसाङमा होटल टन्नै थिए । हामीले कुटुमसाङको बस्ती छिर्ने बित्तिकै नजिकैको एउटा होटलमा बस्ने निधो गर्‍याैँ । त्यहाँ गोसाईंकुण्ड यात्रामा निस्किएका अर्को एउटा समूह पनि बसेको रहेछ । उनीहरुसँग यात्राको अनुभव साट्दै हामीले रमाइलो गर्‍याैँ ।

बेलुकाको खाना खानै लाग्दा हामीले नजिकै राखिएको टुङ्ना देख्यौँ । हामीले टुङ्नाको धुन सुन्ने इच्छा व्यक्त गर्‍याैँ । टुङ्ना बजाउने जान्ने रहेछन् होटलका फुर्वा लाक्पा । हाम्रो इच्छालाई उनले नकार्न सकेनन् । खाना खाइसकेपछि हामीले टुङ्नाको धुन सुन्यौँ । निरन्तरको हिँडाइका कारण थकित शरीरमा बेग्लै किसिमको स्फूर्ति थियो । थकान भन्दा पनि हामी त्यहाँको फरक जीवनशैली र रहनसहनको आनन्द लिइरहेका थियौँ । होटलका सञ्चालकलाई भोलिपल्ट बिहानै निस्कने जानकारी गराएर हामी सुत्यौँ । 

लाङटाङ राष्ट्रिय निकुञ्जको बाटो । जंगलमा चराहरुको चिरबिर । बाटोमा गोसाईंकुण्ड यात्रामा निस्किएका तीर्थयात्री । सिमसिम पानी । कहिले कुहिरोमा छेकिँदै । कहिले झरीमा रुझ्दै हामीले यात्रा अगाडि बढायौँ । 

गह्रौँ झोला । उकालो बाटो । प्राकृतिक सुन्दरताको मनोरम दृश्य । त्यसमाथि बेला बेलामा जुकाले टोक्थ्यो । जति माथि चढ्यो उति चिसो । यात्रा झन् रोमाञ्चक बन्दै गयो । मंगिनगोठमा पुगेर हामीले खाना खायौँ ।

उकाली । ओराली । तेर्सो । हिमाल । डाँडाकाँडा, कन्दरा । त्यहाँको परिवेशमा हुर्केका मानिसहरुको जीवनशैली । सुख । दुःख । चालचलन । नजिकबाट नियाल्ने प्रयत्न गर्दै हामी अघि बढीरह्यौँ ।

आजको हाम्रो यात्रा कहाँ गएर टुङ्ग्याउने ?’ मैले प्रश्न गरेँ । 

‘हिँड्दै जाउँ कहाँसम्म पुगिन्छ ।’ अमीले उत्तर दियो । 

‘त्यस्तो होइन । एउटा गन्तव्य निश्चित गरेर हिँडौ ।’ कमलले थप्यो । आज फेदी गएर बास बसौँ ।’ अमीले भन्यो ।

‘हुन्छ’ , तीनै जना सहमत भयौँ ।

गोसाईंकुण्ड यात्रा तय भएपछि मैले यो बाटोको बारेमा गुगलबाट यहाँको बारेमा केही जानकारी लिएको थिएँ । उत्सुकताका साथ मैले सोधेँ ‘अमी, घोप्टे भीर कता हो ?’

उसले सोध्यो ‘ए, त्यो विमान दुर्घटना भएको ठाउँ ?’

अँ... मैले भनेँ ।

‘त्यही डाँडाको फेदी हो । आज हामी बास बस्न पुग्ने ठाउँ ।’

सन् १९९२ जुलाइ ३१ मा घोप्टेभीर भन्ने ठाउँमा थाइ विमान दुर्घटना भएको थियो । जसमा विभिन्न देशका ११३ जनाको ज्यान गएको थियो । सबैभन्दा बढी थाइ नागरिक र त्यसपछि नेपाली नागरिकको ज्यान गएको थियो भने चालक दलका १४ जनाको ज्यान गएको थियो । मैले यो यात्राअघि गुगल गरेर लिएको जानकारी सुनाएँ । दुवै जनाले मेरो कुरा ध्यानपूर्वक सुने । 

फेदी पुग्नुअघिको ओरालोमा हामीले बोकेको ‘इनर्जी ड्रिङ्क्स’ पियौँ । घरबाट लगेको मकै भटमास चपाउँदै हामी ओरालो लाग्यौँ । बाटोमा भेटिएका धारामा पानीको बोत्तल भर्दै हामीले यात्रा निरन्तर अघि बढायौँ । कहिले पानीमा भिज्दै, कहिले ‘रेन कोट’ ओड्दै हामी घोप्टे पुग्यौँ ।

पानी मज्जाले परेको थियो । दिक्क मान्दै अमीले भन्यो, ‘यो ठाउँमा जहिले आउँदा पनि पानी परिरहेको हुन्छ ।’ नजिकै होटल थियो । कमलले भन्यो, ‘अब यतै खाजा खाएर जाउँ ।’

तीनै जना खाजा खान भित्र पस्यौँ । धुवाँ बाहिर निस्कने गोलो चुल्होमा बेस्सरी आगो दन्किरहेको थियो । हामीले चाउचाउको सुप खाने निधो गर्‍याैँ । होटलको साहुनीले चाउचाउ पकाइन् ।

कुराकानीकै क्रममा हामीले एक अर्कालाई ‘बेबी’ भनेर सम्बोधन गरिरहेका थियौँ । होटलकी साहुनीले हाम्रो कुरा चाखपूर्वक सुनिरहेकी थिइन् । उनले भनिन् ‘‘बेबी’ भन्दा मलाई कसैकसैको खुब याद आउँछ ।’ उनले आफ्नो प्रेम प्रसँग कोट्याइन् ।

हामीले चाउचाउ खाइसक्यौँ । पानी अझै रोकिएको थिएन । साहुनीले भनिन्, ‘यो ठाउँ नै यस्तै हो, यहाँ त पानी परिरहन्छ ।’ हामीले रेनकोट ओढेर हिँड्ने निधो गर्‍याैँ ।

घोप्टे ओढार हुँदै हामी फेदी पुग्यौँ । फेदीमा जम्मा बस्नका लागि दुईवटा होटल रहेछन् । हामीले पहिले बस्ने व्यवस्था मिलायौँ । गोलो धुवाँ बाहिर जाने चुल्होको वरीपरी बसेर हामीले जुत्ता सुकायौँ । बेलुका मौसम खुलेको थियो । होटलका सञ्चालकसँग हामीले  विमान दुर्घटनाका बारेमा सोध्यौँ । उनले औँलाको इशारामा उ त्यहीँनेर भनेर देखाए । उनले अहिले पनि जहाजका केही टुक्रा त्यहाँ भएको जानकारी दिए ।

बाहिर चिसो भएपछि हामी भित्र पस्यौँ । गुराँसका दाउराले हाम्रा जुत्ता सुक्दै थिए । हामीले खाना खायौँ र सुत्यौँ । बिहान उठ्दा घोप्टे भीर कुहिरोले छेकिएको थियो । सबै डाँडा कुहिरोले छोपिएको थियो । सिमसिम पानी परिरहेको थियो ।

फेदीबाट बिहानै हामीले गोसाईंकुण्डको यात्रा सुरु गर्‍याैँ । होटलका सञ्चालकले भनेका थिए, यहाँबाट माथि चढ्दा निकै गाह्रो हुन्छ, बिस्तारै जानू, आरामले हिँड्नू, ६ / ७ घण्टामा तपाईँहरु गोसाईंकुण्ड पुग्नुहुन्छ । 

हामी लौरी विनायकको उकालो चढ्दै थियौँ । करिब २०० मिटरको दूरीमा एउटा छाप्रो थियो । त्यही छाप्रो भएको ठाउँमा नै लौरी बिसाउनुपर्ने अर्थात् आफूले टेकेर गएको लौरो चढाउनुपर्ने । 

मनमा थियो कतिबेला गोसाईंकुण्ड पुगिन्छ भन्ने । अमीले भन्दै थियो ‘सूर्यकुण्ड आइपुग्न लाग्यो ।’ मलाई उकालो चढ्न धेरै गाह्रो भइरहेको थियो । म उनीहरुलाई बिस्तारै हिँड्न आग्रह गर्दै थिएँ । 

चिसो हावाले हानिरहेको थियो । ज्याकेट लगाएँ । टोपी लगाएँ । पछाडि फर्किएर कमललाई भनेँ । ‘गाह्रो भयो’ । नजिकैको ढुंगामा गएर टुसुक्क बसेँ । उ त्यही डिलमा हो सूर्यकुण्ड । अमी भन्दै थियो, ‘लौरी विनायक पुग्न लागिसक्यौँ, अब एकैछिन हिँड ।’

हामीले बिस्तारै पाइला अगाडि बढायौँ । लौरी विनायक पुगियो । लामो सास फेरेँ । लौरो फालेँ । नजिकैको छाप्रोमा एकैछिन थकाइ मार्ने संकेत मैले गरेपछि अमी र कमल पनि छाप्रोभित्र छिरे । 

म आगो नजिकै बसेँ । हामी तीनै जनाले चाैँरी गाईको दुध चाख्यौँ । मेरो टाउको बेस्सरी दुखेको थियो, झोलाबाट एउटा निम्स झिकेर खाएँ । एकैछिन आगोको छेउमा बसेपछि हामी सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड झर्‍याैँ । 

हिमालको काखमा शान्त गोसाईंकुण्ड । कुण्डबाट निस्किएको झरनाको आवाज बाहेक केही छैन । जता पनि चट्टाने पहाड ।  हावाको बेगले हलचल ताल । बीचमा डरलाग्दो निलो आकार । वरीपरी ढुंगैढुंगा । ओरालो लाग्दै गर्दा शिवको मन्दिर । पर एउटा कुनामा गुजुमुज्ज होटल ।

४३८० मिटरको उचाइमा रहेको यो कुण्डभन्दा माथि ४ वटा र तल २ वटा कुण्ड छन् । सबैभन्दा माथि ४६१० मिटरको उचाइमा छ सूर्यकुण्ड ।

चौथो दिन हामी यात्रा गर्दै थियौँ । गोसाईंकुण्डबाट चन्दनबारी हुँदै धुन्चे जाने योजना बनायौँ । 

गोसाईंकुण्डबाट हामी ओरालो लाग्दै गर्दा कहिले हुस्सु नजिकै आएर जिस्काएर जान्थ्यो । लाग्थ्यो, बादल हामीभन्दा तल छ । अलि पर देखिने पहाडको माथि बादल र कुहिरो लुकामारी खेलिरहन्थे । छिनमै मौसम खुल्थ्यो । छिनमै पानी पर्थ्यो । 

लौरी विनायकको ओरालो झर्दै गर्दा हामीले हाम्रो यात्राको रोमाञ्चक क्षणहरु पुनः स्मरण गर्‍याैँ । साँझ पर्नु अघि नै हामी धुन्चे बजार झरिसकेका थियौँ । प्राकृतिक सुन्दरता र धार्मिक महत्व बोकेको गोसाईंकुण्डको यात्रा सकेर हामी पाँचौ दिन गएको मंगलबार काठमाण्डौ फर्कियौँ । गोसाईंकुण्डको मनमोहक स्मृति मनमा अझै पनि ताजै छ ।  

अन्तिम अपडेट: भदौ ९, २०७६

अशाेक काेइराला

उज्यालाेमा कार्यरत अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

1 Comments

  • bharat khatri

    Aug. 15, 2019, 1:47 p.m.

    राम्रो लाग्यो, जानकारी पाइयो, लेखका लागि धन्यवाद !

  •  0 Reply

तपाईको प्रतिक्रिया