श्री एअरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

 साउन ३०, २०७६ बिहिबार १५:१३:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एअरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।

आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय गन्तव्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय  उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स), हिमालय एअरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भरिरहेका  छन् ।

श्री एअरलाइन्सले नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र  भारत तथा बङ्गलादेशका हवाई उड्डयन नियामक निकायको उडान अनुमतिपत्र (एओसी) पाएपछि भारतको नयाँदिल्ली, बैंलोर, कोलकाता, अहमदाबाद र बङ्गलादेशको राजधानी ढाकामा उडान भर्नेछ ।

प्राधिकरणबाट एओसीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताउनुभयो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि श्री एअरलाइन्सले अन्तरराष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको र अब छिट्टै एओसी पाउने राससलाई जानकारी दिनुभयो ।

दुई दशकदेखि हेलिकप्टर सेवा दिइरहेको श्री एयरलाइन्ससले यसअघि हेलिकप्टरको अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाएको थियो । त्यही लाइसेन्सकै आधारमा फिक्स्ड विङको लाइसेन्स पनि माग गर्दै उक्त कम्पनीले पर्यटन मन्त्रालयमा आवेदन दिएको थियो ।

मन्त्रालयले ६ महिनाअघि चार्टर्ड उडानको मात्र लाइसेन्स दिएपछि  यही २७ गते एअरलाइन्सले भारतको वनारसमा परीक्षण उडान गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले अन्तरराष्ट्रिय गन्तब्यमा उडान विस्तार गरेको एअरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार ५० सिट क्षमताको सीआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट भारत र बङ्गलादेशमा उडान भरिने छ । श्री एयरलाइन्ससँग चार वटा सीआरजे २०० र दुई  सिआरजे ७०० जहाज छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सले आगामी शनिबार थप एक थान जहाज भित्र्याउँदैछ । क्यानेडियन जहाज निर्माता बम्मार्डियरको ८० सिट क्षमताको जहाज शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रबन्धक मानन्धरले जानकारी दिनुभयो ।  

सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान सुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया