राष्ट्रिय सम्मानका साथ वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि

 साउन ३०, २०७६ बिहीबार १६:३७:३४ | रासस
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको पशुपति आर्यघाटमा बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ ।

राष्ट्रिय सम्मानका साथ उहाँको अन्येष्टि गरिएको हो ।  नेपाल प्रहरीको एक टुकडीले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो ।

दीक्षितलाई उहाँका छोरा विनोदले दागबत्ती दिनुभएको थियो ।  उहाँप्रति श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट जानुभएको थियो ।

यसअघि उहाँको शव श्रद्धाञ्जलिका लागि उहाँको निवास कालिकास्थानमा राखिएको थियो ।  निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुग्नु भएको थियो ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गर्नुभएको थियो । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया