च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगैँचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।
भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । अहिलेसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन् । तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइने मन्त्रालयका प्रवक्ता (सहसचिव) कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सो योजना अघि बढाउन मन्त्रालयले कति पनि ढिलाइ गरेको छैन । सार्वजनिक खरिद ऐनअनुसार नै ठूलो रकमको ठेक्का सम्झौता गर्दा बढी समय लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचलित ऐनअनुसार काम अघि बढाउँदै गर्दा ढिलाइ देखिएको हो तर मन्त्रालयले कतै पनि ढिलाइ गरेको छैन ।’
अहिले यो स्थानमा नेपाली सेना बस्दै आएको छ । सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको प्रवक्ता दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेनाका कारण ढिलाइ हुँदैन, प्रक्रिया अघि बढिसक्यो अब काम हुन्छ ।’ यहाँ निर्माण हुने भवनहरू परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सबै भवन वास्तुकला तथा डिजाइन काठमाण्डौको स्थानीय वास्तुकला झल्कने खालको हुने विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकिर्ण तुलाधरले बताउनुभयो । आधुनिक प्रविधिबाट निर्माण हुने भए पनि भवनमा नेपालको आफ्नो मौलिकता झल्कने उहाँको भनाइ छ ।
यो भवनलाई अन्तरराष्ट्रियस्तरमा समेत नेपालको इञ्जिनियरिङ र आर्किटेक्चरल उपलब्धिका रुपमा परिचित गराउने लक्ष्य लिइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो आफ्नै कलाको प्रयोग गर्दै आधुनिक भवनहरू निर्माण गर्न लागिएको हो ।’ सङ्घीय संसद् भवन परिसर निर्माण आयोजनाको कूल लागत सात अर्ब रुपैयाँ रहनेछ । १७३ रोपनी क्षेत्रफलमा फैलने परिसरको निर्माण आव २०७८÷७९ सम्ममा सम्पन्न हुने विभागले जनाएको छ । परिसरमा गुरुयोजनालाई भवन क्षेत्र, खुल्ला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको वरिष्ठ डिभिजनल इञ्जिनियर तुलाधरले बताउनुभयो । ४५ प्रतिशत क्षेत्रफलमा खुल्ला हरियाली चौर र २८ प्रतिशत क्षेत्रफलमा सडक पूर्वाधार र पानीका संरचना रहने उहाँले जानकारी दिनुभयो ।
हरियाली चौर, पानीको फोहरा, सार्वजनिक खुल्ला चौरलगायतलाई प्रत्येक भवनको वरिपरि निर्माण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँको कूल क्षेत्रफलको २७ प्रतिशत क्षेत्रफल भवनले ओगट्नेछ ।’ नयाँ बन्ने संसद् भवनमा अत्याधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकिने बताइएको छ । यस परिसरको गुरुयोजनामा सुरक्षालाई विशेष ध्यान दिइएको छ । परीसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने सांसदको प्रवेशका लागि उत्तरतर्फ नयाँ द्वार रहने तुलाधरले बताउनुभयो । दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि ढोका रहने गरी ‘डिजाइन’ तयार गरिएको उहाँले बताउनुभयो ।
संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने विभागले जनाएको छ । ती बाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने तुलाधरले जानकारी दिनुभयो । भवनमा आवश्यकताअनुसार भूमिगत वा अर्धभूमिगत कक्ष पनि निर्माण हुनसक्ने उहाँले बताउनुभयो । भवनहरू भूकम्प, आगलागी लगायतका विशेष अवस्थालाई ध्यानमा राखी निर्माण गरिने उहाँले बताउनुभयो ।
मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रियसभाको बैठक बस्ने हल बन्ने बताइएको छ । प्रतिनिधिसभा भवनमा ४०० अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहने वरिष्ठ डिभिजनल इञ्जिनीयर ताम्राकारले जानकारी दिनुभयो । सो भवनमा ३०० जना पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र २०० अट्ने अर्काे हल हुनेछ ।
राष्ट्रियसभा भवनमा झण्डै १०० जना अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभा अध्यक्षको कक्ष रहनेछ । साथै सो भवनमा २०० अट्ने बाल्कोनी र ३०० जना अट्ने अर्काे हल रहने बताइएको छ । राष्ट्रियसभा भवनको उत्तरतर्फ अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन निर्माणका लागि नमुना तयार गरिएको छ । सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष लगायतको कार्यकक्ष रहने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तक अध्ययन कक्ष, ई–पुस्तकालय, सङ्ग्रहालय, प्रशासनिक कक्षसहितको चारतले पुस्तकालयको भवन निर्माण हुने उहाँले जानकारी दिनुभयो । मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने बताइएको छ । मुख्य भवनको उत्तरतर्फ पाँचतले पार्टी कार्यालय भवन हुनेछ । सो भवनमा बैठक कक्ष, शिशु स्याहार कक्ष लगायतका लागि छुट्टाछुट्टै कक्ष रहने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।