भारतका पूर्व वित्तमन्त्री चिदम्बरमलाई विशेष अदालतमा पेस गरिँदै

 भदौ ५, २०७६ बिहिबार ११:१८:१६ | एजेन्सी
unn.prixa.net

भ्रष्टाचारको आरोपमा पक्राउ परेका भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई बिहीबार सीबीआईको विशेष अदालतमा पेस गर्ने तयारी छ । वित्तमन्त्रीको पद दुरुपयोग गरेको र मनी लाउन्डरिङको आरोपमा केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले बुधबार राति उनकै घरबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

चिदम्बरममाथि आइएनएक्स मिडिया कम्पनीमा सन् २००८ मा अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लागेको छ । सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशील गठबन्धन यूपीएको सरकारमा वित्तमन्त्री भएका बेला भ्रष्टाचार गरेको आरोप लगाएको छ ।  

दिल्लीको जोरबागमा निवासबाट सीबीआईको टोलीले उनलाई नाटकीय ढंगले पक्राउ गरेको थियो । निवासको मूल ढोका नखोलिएपछि टोली पछाडिको ढोकाबाट प्रवेश गरेको थियो । सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेरसमेत भित्र पसेका थिए । 

यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत जानु भएको थियो । तर, मंगबालर उच्च अदालतले उनको माग अस्वीकार गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया