भक्तपुरमा बाढीपहिराेकाे कहर: बस्ती डुब्याे, तीनको ज्यान गयो (फाेटाे कथा)

 असार २८, २०७५ बिहीबार १८:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनास गरेको छ ।  

बाढीले बस्तीहरु डुबानमा पार्नुका साथै पहिरो र बाढीका कारण मानवीय क्षति हुनुको साथै घर, टहरा, गोठ, पशुपंक्षी, चौपाया बगाएको छ । यहाँका हजारौं बासिन्दा बिचल्लीमा परेका छन् ।

राति तीन बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो ।

नगरकोट, वागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेको आएको पानीको एकमात्र निकासको रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिए पछि बस्ती डुबानमा परेका हो । 

डुबान र क्षति यस्तो भयो:

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगाती स्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । डुबानका कारण अस्पतालको उपचारमा प्रभावित पार्नुको साथै आकस्मिक कक्ष बन्द भएको छ ।

यहाँका प्राबिधि सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो । 

त्यसैगरि डा. इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र प्राबिधिक सामानहरुमा क्षति पुगेको अस्पतालका व्यबस्थापक रंजित मारिखुले जानकारी दिनुभयो । भक्तपुरको राम मन्दिर र यहाँसंगैको शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाई बन्द भएको छ । 

त्यसैगरी मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वा चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पुरै डुबानमा परेको छ । जमिन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेष गरि भुईंतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाईटी भक्तपुरको टोलीले उद्धार गरेको छ । 

रातिदेखि नै पानी बस्तीमा पसेपनि बिहानीपख भने बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुईतलाको सामानहरुमा क्षति पुगेको छ ।

बहुतले घरका मानिस बाहिर निस्कन नसक्दा कार्यालय, व्यबसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए भने भुईतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थान तर्फ लगिएको थियो । 

सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट, कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पुर्याएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका एकतले घर, टहराहरु बगाएको छ । 

गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरु समेत बगाएको छ । बाढीका कारण मानविय क्षति नभएपनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के कति संख्यामा क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले बताएको छ ।

मध्यपुर अस्पताल, एसएस कलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कूल, ग्लोरी स्कूल डुबानमा परेको छ । डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गर्नुका साथै बोट संचालन गरेर सुरक्षित स्थानमा पुर्याएको थियो ।

यहाँका बासिन्दा दिउँसो अबेरसम्म पनि सहज रुपमा बाहिर निस्कन सकेका छैनन् । बजार समेत डुबानमा परेकाले सयौ व्यापारीको खाद्यान्न, ईलेक्ट्रोनिक्स, ईलेक्ट्रिकल्स सामानहरु र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति पुगेको छ । डुबान क्षेत्रका एक दर्जन विदालयहरु बन्द भएको छ ।

यता मनोहरा सुकुम्वासी बस्ती पुरै डुबानमा परेको छ । जडिबुटी स्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पुरै डुबानमा पर्दा यहाँका बासिन्दाले राती १ बजेदेखि जागा बस्नु परेको स्थानीयले बताएका छन् ।

बाढीपहिराेकै क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका –७, मझुवा टोलमा पहिरोले घर पुर्दा सुतिरहेका हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

 

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tara

    July 14, 2018, 6:09 a.m.

    बस्ती धेरै हुनु र समय मै ढल निकासको ख्याल नगर्नुले हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया