तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट, १६ जनाको मृत्यु

 भदौ १८, २०७६ बुधबार ८:५२:१४ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ ।  

काबुलको आवासीय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य १ सय १७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।   

सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए । उनी अफगानिस्तानमा तालिबान लडाकू र अमेरिकाबीच शान्ति सम्झाैता हुन लागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आएका थिए । 

गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीकाअनुसार विष्फोटक पदार्थले भरिएको एउटा ट्याक्टर ग्रीन भिलेज नामक अन्तर्राष्ट्रिय संघ, संगठनलगायत विदेशीहरु बस्ने आवासीय भवनहरु पनि रहेको कमाण्डको पर्खालमा विस्फोट गराइएको थियो । यस विस्फोटमा परी १६ सर्वसाधारणको ज्यान जानुका साथै अन्य १ सय १९ जना घाइते भएका रहिमीले पुष्टि गरेका छन् ।

केही दिनयता तालिबान लडाकूले गरेको यो तेस्रो ठूलो आक्रमण हो ।  सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरहरूमा भएका भीषण आक्रमणहरुमा दर्जनौं सुरक्षाबल र नागरिकहरूलाई मारिनुको साथै घाइते भएका छन् । 

अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । यो समयमा एक लाख ३० हजार भन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए ।

सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायः नेटो सेना अफगानिस्तानबाट आ– आफ्नो देश फर्किएका थिए । यही समयबाट अहिलेसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।    

यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा सुरु भएको छ । गएकाे साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ८ हजार ६००  सेना मात्र अफगानिस्तानमा रहेको बताएका थिए ।

वासिङ्गटनले गएको विहीबार अफगानिस्तानमा रहेका अमेरिकी सेनाको सङ्ख्या ८ हजार ६ सयमा झार्ने  घोषणा गरेको थियो । तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरहेको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला यो घोषणा भएको बताइएको थियो । 

सन् २००१ सेप्टेम्बर ११ मा भएको न्यूयोर्क र वासिङटनमा करिब ३ हजारको ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो । 

अफगानिस्तानमा यो समयमा कट्टरपन्थी तालिबान शासकहरुले ओसामा बिन लादेन र उनको नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो । ट्वीन टावरमाथि आक्रमण यही समूहले गरेको थियो । यसै कारण यो संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही सुरु भएको थियो । अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङकवाद विरूद्धको युद्ध भनिएको थियो ।

सन् २०१४ को डिसेम्बरमा अमेरिकी नेतृत्वमा रहेका प्रायः सैनिक अफगानिस्तानमा फर्किसकेका थिए । अमेरिका र अफगानिस्तानबीच भएको सम्झौता अनुरुप १२ हजार ५०० विदेशी सैनिक अफगानिस्तानमा रहने सम्झौता भएको थियो । अहिले यस संख्यालाई अझै कटाएर ८ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ । 

उता अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको प्रस्ताव गरेको थियो । तालिबान लडाकू समूहले भने आक्रमणको क्रमलाई अन्त्य गरेको छैन ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया