भरतपुर विमानस्थल विस्तारमा नेकपा अध्यक्ष दाहालकाे चासाे, चितवनकाे विकासमा विशेष ध्यान

 भदौ १८, २०७६ बुधबार २०:२८:४७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकामा रहेको भरतपुर विमानस्थलमा जोखिम बढ्दै गएपछि सरोकारवालाहरुको चासो बढेको छ । 

बुधबार महानगरपालिकाले विमानस्थलका विषयमा पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा सरोकारवालाहरुका बीचमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । 

भरतपुर विमानस्थल विस्तार एवम् सुधारका विषयमा भएको छलफल कार्यक्रममा अध्यक्ष दाहालले चितवनको विकासमा आफ्नो विशेष ध्यान रहेको बताउनुभयो ।उहाँले भरतपुर विमानस्थललाई विस्तार गरेर ठूला जहाज आउने सक्ने गरी विमानस्थलको विस्तार र सुधारका लागि छिट्टै काम सुरु हुने बताउनु भएको हो । 

काठमाण्डौको वैकल्पिक विमानस्थलको रुपमा भरतपुर विमानस्थलको विस्तार गर्नुपर्ने बताउँदै दाहालले नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर भएकोले चितवनकै मेघौली विमानस्थललाई वैकल्पिकरुपमा राखेर पूर्वाधार विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थल सधैँ जोखिममा रहिरहन नसक्ने बताउँदै विमानस्थललाई विशेष चासोका साथ हेरिएको जानकारी दिनुभयो । उहाँले जतिसक्दो छिटो विमानस्थल विस्तार र सुधारका विषयमा काम गर्नुपर्ने बताउनु भयो । 

विमानस्थलसँगै सेनाको ब्यारेक रहेको छ । भरतपुर विमानस्थल विस्तारमा नेपाली सेना बाधक नहुने बताउँदै मन्त्री भट्टराईले नेपालका महत्वपूर्ण विकास निर्माणका काम नेपाली सेनाले गर्दै आएको र उपयुक्त विकल्प दिन सके यो सम्भावना रहेको बताउन भयोे ।

सरोकारवालाहरुको बीचमा भएको छलफलका आधारमा मन्त्रालयले एक हप्ताभित्र विमानस्थल विस्तारका लागि विज्ञसहितको सर्वपक्षीय समिति निर्माण गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री भट्टराईले विमानस्थल वरपर रहेका मापदण्ड विपरीतका घर र अन्य संरचनाको पनि एकै पटक समाधान गरिने बताउनु भयो । 

मन्त्री भट्टराईले पर्यटन मन्त्रालयका प्रतिनिधि, विज्ञ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधिहरुको एउटा कमिटी निर्माण गर्ने र त्यसले दिएको प्रतिवेदनका आधारमा अन्य काम अगाडि बढाउने प्रस्ट पार्नुभयो ।   

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘कनेक्टिभिटी’ प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रदेश सरकारको प्राथमिकतामा भरतपुर विमानस्थल रहेको बताउनु भयो । प्रदेश राजधानी हेटौँडासँग जोडिने नजिकको विमानस्थल भएकाले पनि भरतपुर विमानस्थललाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।   

बैठकमा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, राष्ट्रिय सभाका सांसद पार्वती रावल, प्रदेश सांसदहरु, चितवनका राजनीतिक पार्टीका प्रतिनिधिले भरतपुर विमानस्थल विस्तार हुनु पर्ने माग राखेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया