हंसपुर नगरपालिका विवाद: मेयर पक्षबाट उपमेयरसहित ३ जनामाथि जाहेरी दर्ता

 भदौ २२, २०७६ आइतबार २०:३४:२२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयर बीचको विवाद झनै उग्र बन्दै गएको छ ।

नगरपालिकाको केन्द्र सार्ने विषयमा गएकाे साउन २१ गते दुवै पक्षको झडपमा परेर घाइते भएका हंसपुर नगरपालिका-२ का स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलकाे गएकाे भदौ १८ गते उपचारको क्रममा मृत्यु भएपछि विवाद झनै चुलिएको हो ।

उनको मृत्युपछि उपमेयर रेणु झा पक्षले शक्ति प्रदर्शन गर्दै मेयर रामज्ञान मण्डललगायत ४ जनामाथि प्रहरीमा किटानी जाहेरी दर्ता गराएको एकसाता नबित्दै आइतबार मेयर पक्षले पनि शक्ति प्रदर्शन र उपमेयरलगायत ३ जनामाथि किटानी जाहेरी दर्ता गराएका छन् ।

हंसपुर चाेकबाट ट्रयाक्टर, मोटरसाइकललगायतमा आएका मेयर मण्डल पक्षधर प्रदर्शनकारीहरुले उपमेयर झाविरुद्ध नारा जुलुस एवं शक्ति प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । झण्डै २ हजारको संख्यामा आएका प्रदर्शनकारीले मेयर लगायत ४ जनामाथि लगाइएको झुटो मुद्दा खारेज गर लगायतका नारा लगाएका थिए ।

मेयर पक्षका मनोज कुमार सिंंह, शशि कापड र सदैय यादवले उपमेयर रेणु कुमारी झा, वडा नम्बर २ का वडाध्यक्ष उदय साह र वडा नम्बर २ बस्ने किशोरी यादव गरी तीनजनामाथि समेत जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

गएकाे बिहीबार उपमेयर झा पक्षधर मृतक तपेश्वरका छोरा राजकुमार मण्डलले जिल्ला प्रहरी कार्यालय धनुषामा मेयर मण्डल, वडा नम्बर-३ का वडाध्यक्ष उदय सिंंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नम्बर-४ का स्थानीय लालबाबु यादवमाथि जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता गराएका थिए ।

वडा नम्बर-२ बघचौडामा रहेको नगरपालिकाको केन्द्र कार्यालय मेयर मण्डलले वडा नम्बर-३ को बेल्हीमा सार्न खोजेपछि उपमेयर झाले अवरोध गरेपछि विवाद सुरु भएकाे थियाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया