कश्मीरमा इन्टरनेट, मोबाइल सेवा प्रतिबन्ध : पत्रकारलाई समाचार संकलन गर्न समस्या

 भदौ ३१, २०७६ मंगलबार १८:१३:३१ | एजेन्सी
unn.prixa.net

कश्मीरमा गएको ४० दिनदेखि इन्टरनेट र मोबाइल सेवा नहुँदा पत्रकारहरु कठिन अवस्थाको सामना गरिरहेका छन् । यस्तो अवस्थामा सरकारद्वारा बनाइएको एक अस्थायी मिडिया केन्द्र नै बाँकी दुनियाँसँग सम्पर्क गर्ने एकमात्र माध्यम बनेको छ । 

केन्द्र सरकारले जम्मू–कश्मीरको धारा ३७० को प्रावधान खारेज गर्ने र राज्यलाई दुई ओटा केन्द्रशासित प्रदेशमा बाँड्ने निर्णयको पूर्वसन्ध्या अर्थात गएको ४ अगष्टदेखि कश्मीर क्षेत्रमा प्रतिबन्ध जारी छ । 

ल्याण्डलाइन फोन सेवा यो महिनाको सुरुवातमा फेरि सुरु गरिएको छ भने मोबाइल सेवा र इन्टरनेट (कुनै पनि प्लेटफर्म) अझै पनि बन्द छ ।

एक जना वरिष्ठ फोटो पत्रकार इरफान अहमदले भने, ‘हाम्रो आफ्नो मुख्यालयसँग न्यूनतम सम्पर्क रहेको छ । हामी प्रायजसो कुनै कामको कारण आफ्नो कार्यालयभन्दा बाहिर रहन्छौँ र यस्तो अवस्थामा मुख्यालयमा बसेका व्यक्ति वा हाम्रो घरमा रहेकाहरुसँग मोबाइल फोन सेवाको अनुपस्थितिमा सम्पर्क गर्न निकै मुश्किल हुन्छ ।’

एक दैनिक अखबारमा काम गर्ने स्थानीय पत्रकार मुदासिरले सञ्चार प्रतिबन्धित हुँदा सूचना संग्रह गर्न पनि कठिन भएको बताए । उनले भने, ‘शहरमा के भैरहेको छ हामीलाई त्यति थाहा नै हुँदैन र दोस्रो जिल्लाबाट पनि सूचना आउनु मुस्किल भएको छ । हामीहरु घटनाको बारेमा आधिकारिक बयानमा निर्भर हुनुपर्छ । अन्य जिल्लाका अधिकारीहरु र स्रोतसम्म पहुँच राख्न निकै गाह्रो भैरहेको छ ।’

प्रतिबन्ध लगाइएपछि सुरुवाति केही दिनमा पत्रकार, टिभी च्यानललाई ओबी (स्टुडियो बाहिरबाट गरिने प्रसारण) भ्यानको अलावा कुनै अरु माध्यमबाट सन्देश पठाउन सम्भव थिएन । 

केही पत्रकारहरु आफ्नो खबर पेन ड्राइभमा हालेर विमानस्थलसम्म पुगेर विमान यात्रीहरुको माध्यमबाट आफ्नो खबर पठाउने गर्दथे । यात्रीहरु सञ्चार संस्थामा फोन गरेर पेन ड्राइभ दिने गर्दथे । 

झण्डै एक हप्तापछि राज्य सरकारको सूचना एवं जनसम्पर्क विभागले एक स्थानीय होटलको बैठक कोठामा अस्थायीरुपमा सञ्चार सुविधा केन्द्र स्थापित गरेको थियो । 

यहाँ राज्य र राज्य बाहिरका सयौँ पत्रकारहरुका लागि चार ओटा कम्प्युटर र एकमात्र मोबाइल फोन उपलब्ध छ, जुन अपुग हो । पत्रकारहरुको गुनासोपछि भने कम्प्युटरको संख्या बढाइएको र नेटवर्कको स्पीड पनि बढाइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया