चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
दशैँ, तिहार हरेक चाडबाड फिका लाग्छन् अचेल ।
मलाई मात्रै हो कि सबैलाई यस्तै फिका लाग्छ । यस्तै कुरा सोच्छु कहिलेकाहीँ । भन्छन् सबै दशैँ आयो, दशैँ आयो । मलाई अचम्म लाग्छ, खै कहाँबाट आँउछ यो दशैँ ? कहाँबाट जान्छ चालै पाइँदैन ।
फिका लाग्छन् हरेक चाडबाड । पहिले त मलाई पनि रमाइलो नै लाग्थ्यो जब आमाले दशैँमा मामाघर लान्छु भनेर फकाइफुलाइ काममा पठाउनुहुन्थ्यो । मामाघर जाने र नयाँ लुगा किनिदिने भनेपछि त हुरुक्क हुँदै नसकेको काम पनि गर्न तयार हुन्थेँ रे ।
जब आमाको माया, आमाको महत्व थाहा थिएन, त्यतिबेल मसँगै थिइन् आमा । जब आमा को हुन् भन्ने थाहा पाइयो तब आमा नै साथमा छैनन् । आमाबिनाका हरेक चाडबाड खल्लो र फिका लाग्छन् ।
ऋणै निकालेर भए पनि आमाबुवा, भाइबहिनी सँगै हुन पाउँदा पो दशैँ, आमाबिनाको दशैँ त के दशैँ ।
मैले यो लेखिरहँदा कतिपयलाई लाग्न सक्छ सधैँभरि आमा कसको पो साथमा हुन्छ र ? आखिर रमाइलो दिनमा रमाउन सिक्नुपर्छ । तर, यो भनिरहँदा उसलाई पनि आमाको अभाव त पक्कै खड्किन्छ होला ।
जाने त मैले पनि योजना बनाएको छु दशैँमा घर, आमा नभए पनि मैले आमा बनेर जानुपर्छ । कसैलाई आभास होस् दशैँमा मेरो आमा आइन् । त्यो मेरो साने जसले जन्मँदै आमाको दूधसमेत चुस्न पाएन । त्यो अभागीको आमा, दिदी सबै मैले नै बन्नुपर्छ । त्यसैले पनि अहिले खल्लो लाग्छ दशैँ ।
आमाको आशीर्वाद थाप्न घर जानुपर्ने समयमा आमा बनेर भाइबहिनीलाई आशीर्वाद दिएर फर्किन्छु । ६ भाइबहिनीमध्ये सबैभन्दा जेठो भएर नै होला । एउटा आमाको आफ्ना सन्तानप्रति कति माया हुन्छ म महसुस गर्न सक्छु किनकी जो जिम्मेवारी मैले पाए ।
उनीहरुलाई आशीर्वाद दिन वर्षभरि जहाँ गए पनि गुँड सम्झेर घर पुग्नुपर्छ ।
मनभरिको पीडा लुकाएर पनि बाहिर खुसी भएको देखाउनुपर्छ । हरेक चाडपर्व नआइदिए नै हुन्थ्यो लाग्छ । तर, समय त हो । उसलाई कसैप्रति के मतलब, सेकेण्ड, मिनेट, घण्टा हुँदै कुदिरहन्छ निरन्तर ।
बालापन र आमासँगका जति पनि यादहरु छन्, चाडपर्व नजिक आएसँगै झल्झली आँखा वरिपरि घुम्छन् । घर पोत्ने रातो माटो ल्याउन दुई घण्टा हिँडेर गएको दिन कसरी बिर्सन सक्छु र ?
यस्तो पो दशैँ
टोलभरिका दिदीबहिनीहरु दशैँ आउनुअगावै रातो माटो र कमेरो ल्याउन जान्थे । गाउँमै भएका दाजुभाइहरु बाबियो काटेर पिङ बनाउने तयारी गर्थे । परदेशमा रहेका वा घरबाट टाढा रहेका आफन्तहरु घर आउने खबर पठाउँथे । बाले बजारबाट नयाँ लुगा किनेर ल्याउनुहुन्थ्यो ।
थानबाटै काटेर ल्याएको लुगा सिउन कानमा मेसिन राख्दै आउनुहुन्थ्यो लुगा सिलाउने दाइ । एउटा बालकका लागि योभन्दा रमाइलो के हुन्थ्यो र ? दिनभर दाइले लुगा सिलाउँदा बल्ल साँझ तयार हुन्थे । दशैँमा लगाउने लुगा ।
मपछि भाइ भएर होला भाइ र मेरो कपडा फरक हुन्थ्यो । जसको दिदीबहिनी सँगसँगैको छन् उनीहरुको त एकै थानको लुगा हुन्थ्यो । लुगाबाटै थाहा हुन्थ्यो ।
बुवाले दिनभर हिँडेर, बजारबाट किनेर ल्याएको लुगा दशैँ आउन केही दिनअघि नै तयार भइसक्थ्यो । अनि तिनै लुगा देखाउन टोलैभरि घुमिन्थ्यो ।
कसैलाई त भनेरै हिँडिन्थ्यो ‘हेर मेरो दशैँको लुगा कस्तो छ ?’ बाले किनेर ल्याइदिएको नि । कसैले सोध्दै नसोधे पनि आफै फुइँ लाउँथेँ ।
यति मात्रै हो र बाले ऋण काढेरै भए पनि सके खसी किन्न नसके पनि मासु ल्याउनुहुन्थ्यो । तब पो दशैँ आएको भान हुन्थ्याे। रमाइलो लाग्थ्यो । आहा ! साच्चै दशैँ आयो । कति खुसी हुने मन । मेरा लागि त्यो बेलाको दशैँमा मासु खाने, दिनभरि पिङ खेल्ने, सारा गाउँ चाहार्ने मुख्य याेजनाभित्र पर्थे। नयाँ लुगा लगाएर मामाघर जाने । योभन्दा बढी मैले दशैँ खासै बुझिनँ ।
अचम्म लाग्छ अचेल, दशैँको दिन नयाँ कपडा लगाउनै भए पनि मजाले शरीर मिचिमिची नुहाउँथ्यौँ । गाँउमा, चाडबाडभन्दा अरु दिन नयाँ लुगा लगएर कपाल कोरेर पनि आज कता जान ठिक्क परेकी प्रश्न गर्थे ।
आज मेरो, भोलि तेरो । सबै जना मिलेर एक अर्काको घर पोत्न भ्याइनभ्याइ हुन्थ्यो । सेलरोटी पकाउन चाहिने तेलका लागि कोलमा तोरी पेल्न गइन्थ्यो । टोलटोलमा सरसफाइ अभियान चलाइन्थ्याे। दशैँ आउनु अघि गरिने यी कामले लागेको थकाइ पनि बिर्सन्थ्यौँ ।
बिहानै उठ्दा नौमती र राति सुत्दा नौरता बजाएर गाउँ नै गुञ्जायमान हुन्थ्यो । जति रमाइलो भए पनि अर्कोतिर उत्ति नै काम हुन्थ्यो । दशैँमा कहिलेकाहीँ धान काट्ने चटारो पनि पर्थ्यो । तर, जे होस् जति काम भए पनि रमाएरै गरिन्थ्यो ।
अहिले त कहाँ त्यस्तो छ र ? लुगा सिउने दाइको मेसिन खिया लागेको छ । अब त्यसरी लुगा सिलाउने दिनै गएका हुन् कि के हो ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।