विप्लव समूहका जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ: विस्फाेटक पदार्थ बरामद

 असोज १८, २०७६ शनिबार २०:४९:१३ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को २० प ५८८८ नम्बरको मोटरसाइकलसहित प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ ।

खतिवडाले दिएको जानकारीका आधारमा बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको छ ।

प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो ।

यसैगरी उनीहरुकाे साथबाट विप्लव समूहका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया