टर्कीद्वारा सिरियामा आक्रमण जारी, हजारौँ मानिस भागाभाग

 असोज २४, २०७६ शुक्रबार ८:१७:३३ | एजेन्सी
unn.prixa.net

उत्तरी सिरियाको कुर्दिस लडाकूको नियन्त्रणमा रहेको क्षेत्रमा टर्कीले सैन्य कारबाही दोस्रो दिन पनि जारी राखेको छ । त्यहाँ भीषण भिडन्त भइरहेको बीबीसीले जनाएको छ । 

बिहीबार टर्कीले सैन्य कारबाही गर्दा ९ जना गैर सैनिक मारिएको कुर्दिस लडाकूहरुले जनाएका छन् । यसको पुष्टि भने भइसकेको छैन । टर्कीपट्टीको नगरमा कुर्दिसहरुले पनि हमला गरेका छन्  । त्यहाँ एक शिशुसहित कम्तीमा तीन जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । 

युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन् । अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन् ।

टर्कीका राष्ट्रपति रेजप तायिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरू हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन् ।

टर्कीले कुर्दिस मिलिसियाहरूलाई टर्कीविरोधी विद्रोह समर्थन गर्ने आतंकवादी मान्दै आइरहेको छ । सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ)का कुर्दिस समूहले सिमा नाका नियन्त्रणमा लिन प्रयास गर्ने गरेका छन् ।

इस्लामिक स्टेट (आइएस)विरुद्धको लडाइँमा एसडीएफले अमेरिकाको साथ दिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यो क्षेत्रबाट अमेरिकी फौज फिर्ता लैजाने निर्णय गरेपश्चात् टर्कीले त्यहाँ आक्रमण गरेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया