‘कप्तान होइन, भाइ भन्नुस् भाइ’

 असोज २८, २०७६ मंगलबार २०:३७:३६ | पवित्रा राउत
unn.prixa.net

के छ कप्तान ? मेरो प्रश्न ।

जवाफ : कप्तान होइन, भाइ भन्नुस् भाइ ।

किन कप्तान ? मेरो प्रतिप्रश्न ।
जवाफ : कप्तान त सधैँ म रहन्नँ, तर भाइ सदैव रहिरहन्छु ।

यति हुँदाहुँदै पनि मैले कहिल्यै पारसलाइ ‘कप्तान’ भन्न छाडिनँ । यसको मतलब उ मेरो भाइ थिएन या होइन भन्ने पनि होइन ।

सन् २०११ मा काठमाण्डौमा भएको एसीसी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका दौरान कप्तान पारस खड्कासँग यो संवाद भएको थियो । कप्तान र भाइको यो संवादको सिलसिला हाम्रो भेटमा चलिरहेकै थियो ।

तिनै पारसले एक दशकको कप्तानी भूमिकावाट विश्राम लिएको खबर मंगलबार अचानक सुन्न पर्दा अरु सबैसरह म पनि आश्चर्यमा परेँ । अहिले पनि परिरहेकी छु । के अब साँच्चै उनी कप्तान रहेनन् त ? मैले अब कप्तान भन्न नपाउने भएँ ? मूड अफ् भयो । काम गर्न मन लागेन । फोन गरेँ । ‘मसँग कुरा भयो, अब खुशीसँग काम गर्नुहोस्’, पारसले हाँसेर जवाफ फर्काए ।

पारसलाई नेपाली क्रिकेटले कप्तान सन् २००९ मा बनायो । तर मेरा लागि उनी त्यसअघि नै कप्तान भइसकेका थिए । यही कारण म उनलाइ भाइभन्दा धेरै ‘कप्तान’ सम्बोधन गर्न मन पराउँथे ।

यो कारण मैले पारसलाई समेत भनेकी छैन । घरेलु प्रतियोगितामा स्कोरिङ गरिरहँदा नै मैले पारसलाई चिनेकी थिएँ । अन्तरस्कुल प्रतियोगितादेखि नेपालको जुनियर टिममा खेलाडी रहँदा उनी मेरो मन पर्ने व्यक्तित्व थिए । यसका कारण छन् । पहिलो कारण त उनी यति दुब्ला र अग्लो थिए कि खेलाडीहरुमा उनको पृथकता सजिलै झल्किन्थ्यो । अहिले पनि खासै फेरिएका छैनन् । दोश्रो उनको खेल र टिमका अरु सदस्यप्रतिको व्यवहार यति सहज थियो कि नेतृत्वको पारा सहजै अनुमान गर्न सकिन्थ्यो ।

एउटा विशेषता झनै बेग्लै थियो । आफूले खेलेका हरेक इनिङ्सपछि उनी स्कोरिङ डेस्कमा आउँथे । पहिले आफ्नो प्रदर्शन केलाएर हेर्दथे । धेरै रन बन्यो या धेरै विकेट हात पर्‍यो भनेर उनी मख्ख पर्दैनथे । कमजोरी केलाउन (बल, रन, अतिरिक्त रन) तल्लिन हुन्थे । आफ्नो मात्रै हैन टिमकै प्रदर्शन विस्तृतमा केलाउँथे ।

उनको यो लक्षणले नै कप्तानी झलक दिन्थ्यो । हो, कहिलेकाहीँ मेरो होचो उचाइसँग ठट्टा गरेर मलाई छेक्दै बाउन्ड्री लाइनमा मेरो अगाडि नउभिएका भने होइनन् यी कप्तान । तर त्यो अमूल्य अनुभवको सुन्दरताको महत्व झनै प्यारो र अविस्मरणीय छ मेरा लागि ।

भाइ/कप्तान पारससँग यति नजिक भइए छ कि आज यो ब्लग लेख्दै गर्दा हामी दुईको फोटो खोजेको एउटा मात्र पाएँ त्यो पनि शरद, पारस र मेरो । 

पारस खड्का र शरद भेषावकरकाे बीचमा लेखक पवित्रा राउत

सायद तस्बिर लिने आवश्यकता महसुस नै भएन । न घरेलु प्रतियोगितामा, न अन्तर्राष्ट्रिय प्रतियोगितामा । न सन् २०१४ को बंगलादेशमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा । झल्याँस्स सम्झिएँ । एउटा फोटो थियो एमसीसीको टिम नेपाल आउँदा पिच नजिकै खिचेको । जसमा म बीचमा मेरो दायाँ र बायाँ पारस र शक्ति गौचन थिए, ‘नेपाल भारत र चीन’ को साइज जस्तै देखिने, कता हराएछ । त्यो पनि भेटिनँ ।  

खेलाडीका रुपमा पारसले बनाएको कीर्तिमान र कप्तानको रुपमा उनले नेपाललाई दिलाएको सफलताको ज्ञान नेपाली क्रिकेटमा समर्थकलाई कण्ठै छ । जुन बयान मलाई गर्नु छैन । कप्तानबाट विश्राम लिए पनि पारस खेलाडीका रुपमा मैदानमा अझै चम्किनेछन् र यस्ता कीर्तिमान थपिँदै जानेछन् । यसमा शंका गर्नु पर्ने ठाउँ छैन ।

व्यक्तिका रुपमा पारसका धेरै संगातिलाई, टिमका खेलाडीलाई उनको व्यवहार थाहा छ । तर क्रिकेट मैदानमा पहिलो महिला स्कोररको रुपमा प्रवेश गर्दा भएको हिच्किचाहट, पुरुषमैत्री क्रिकेट मैदान यी विविध अप्ठयाराहरुबीच क्रिकेटरहरु नै मेरो परिवार थिए । यस्तैमा विनोद दास, शक्ति गौचन, शरद भेषावकर, मन्जित श्रेष्ठ, यशवन्त सुवेदी, इरफान सिद्दीकी यी नामहरु थिए ।

पछि कनिष्क चौगाईँ, अन्तिम थापा मगर, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, पारस खड्कालगायतका नाम थपिँदै गए । उनीहरुको न्यानो माया र आदरका कारण क्रिकेटमा मैले लगभग १२ वर्ष विताएका दिनहरु सुनौला थिए । पारससँगका यस्ता धेरै गाथा छन् । जुन फुकाउँदै जाउँला । पत्रकार र स्कोररको दोहोरो भूमिका र खेलाडीसँगको सुमधुर सम्बन्धका बीचमा रहँदा व्यावसायिकतामा अप्ठयारो परेका घटनाहरुका सूची पनि कम छैनन् । जुन स्वभाविकै थियो ।

फरक-फरक भूमिकाको सङ्गतमा मैले नियालेको पारस खड्का हर तरहबाट कप्तान थिए । त्यसैले म भाइभन्दा ‘कप्तान’ भन्न रुचाउँथे । नेतृत्वको क्षमताले भरिएका, मैले चिनेको कप्तान पारस, निरन्तर रुपमा अडिग र हरसम्भव खेल जित्न कोसिस गर्ने तर खेल सकिएपछि नतिजामा निराश नहुने, टिमलाई हौसला दिइरहने, आफ्ना सहकर्मीको कहिल्यै पनि नराम्रा कुरा नगर्ने, उनीहरुको क्षमताको कदर गर्ने र नेपाली क्रिकेटका लागि हरदम हरेक ठाउमा उपस्थित भैरहने एउटा सच्चा क्रिकेटर हुन् ।

यही कारण पारस मेरा लागि सदैव कप्तान अघि हुन् र भाइ पछि । प्राविधिक रुपमा उनलाई अब ‘कप्तान’ सम्बोधन गर्न पाइन्न भनेर नै उनको सम्मानमा मैले यी हरुफहरु लेखेकी हुँ । ताकि पारस मेरा लागि स्नेही भाइ त छँदैछन् सदैव एउटा कुशल कप्तान रहिरहून् । रही पनि रहनेछन् । ठाउँ र भूमिका फरक होला तर उनको नेतृत्वको आभाष मैले मात्र होइन सिंगो नेपाली क्रिकेटले निरन्तर पाइ नै रहनेछ आशा छ ।

-यो ब्लग पवित्रा राउतको ब्लग पबुसिस डट ब्लगस्पट डटकमबाट अनुमति लिएर साभार गरिएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

पवित्रा राउत

लामो समय खेल पत्रकारिता गर्नु भएकी पवित्रा अहिले नेपाल ल क्याम्पसमा अध्यापन गराउनुहुन्छ र वकालत पेशामा सक्रिय हुनुहुन्छ । उहाँलाई ट्विटरफेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया