छनोट प्रक्रिया पूरा नगरी मलेसियाको लागि स्वास्थ्य परीक्षण नगर्न विभागको अनुरोध

 कात्तिक १९, २०७६ मंगलबार ११:४२:१ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति लिएर कामदार छनौट प्रक्रिया पूरा नगरी मलेसिया जाने कामदारको बायोमेट्रिक (स्वास्थ्य परीक्षण) र जीएसजी नगर्न वैदेशिक रोजगार व्यवसायीलाई अनुरोध गरेको छ ।

मलेसियामा कामदार पठाउन वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट १८ सय कामदारको मात्रै पूर्व स्वीकृति लिएको भए पनि एक लाखभन्दा धेरै कामदारको स्वास्थ्य परीक्षण र इमिग्र्रेसन सेक्युरिटी क्लेरेन्स (जीएसजी) गरेको पाईएको भन्दै विभागले कामदार छनौट प्रक्रिया पूरा गर्न भनेको हो ।

कामदार पठाउनका लागि विभागबाट पूर्व स्वीकृति लिएर विज्ञापन जारी गरी कामदार छनौट गरेर मात्र कामदारको स्वास्थ्य परीक्षण र इमिग्र्रेसन सेक्युरिटी क्लेसेन्स (जीएसजी) गर्नु पर्छ ।

कामदार छनौट प्रक्रिया पूरा नगरी यस्तो कार्य गरेको र कामदारबाट ठूलो रकम लिएको सूचना प्राप्त भएको भन्दै विभागले त्यसो गरेको भए ससम्मान रकम फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

साथै, छनोट प्रक्रिया पूरा नभइ बायोमेट्रिक र जीएसजी लगायत कुनै पनि प्रक्रियामा सहभागी नहुन सबैलाई विभागले अनुरोध गरेको छ ।

यस्तै, पूर्व स्वीकृति लिइ कामदार छनोट प्रक्रिया पूरा गरिरसेका व्यवसायीलाई भने आइएससी र बायोमेट्रिकका लागि कामदार पठाउँदा पत्र र लट नम्बरसहित पठाउन समेत अनुरोध गरेको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया