आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
बाँके - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पछिल्लो समय आफू सरकार र पार्टीको प्रचारक जस्तो भएको बताउनुभएको छ ।
विजयादशमी, तिहार, नेपाल सम्वत् ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेको अवसरमा नेकपा बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कार्यक्रममा देशभर पुगेर नागरिकका गुनासा सुन्ने मौका पाएको बताउनुभयो ।
विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका वरिष्ठ नेतासँग राख्ने गरेको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रचारक हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । इतिहासले आफूलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उहाँले अहिले प्रचारकको जिम्मेवारी पाएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘५ वर्ष राम्रो गरे ५० वर्षसम्म पनि जनताको साथ र समर्थन हुन्छ । राम्रो काम गर्न नसके ५ वर्षपछि कांग्रेस छँदैछ ।’
उहाँले प्रदेश ५ को राजधानी बहुसङ्ख्यक जनतालाई पायक पर्ने स्थानमा हुने भन्दै यसबारेमा पार्टीभित्र सहमति भइसकेको जानकारी दिनुभयो । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभामुखसमेत रहनुभएकी नेकपा प्रदेश ५ कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, बाँके जिल्ला सचिव अशोक कोइराला, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले शुभकामना व्यक्त गर्दै चियापानको राजनीतिले सहमतिको राजनीतिलाई बल पुग्ने बताउनुभयो ।
नेपालगञ्जका मेयर डा. राणाले कार्यक्रममा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने माग गर्नुभयो । ‘दाङसम्म राजधानी भए चित्त नबुझे पनि स्वीकार गरौँला’, राणाले भन्नुभयो, ‘बुटवल कुनै पनि हालतमा मान्दैनौँ, राजधानी घोषणा हुनासाथ आन्दोलन सुरु हुुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।