सामाजिक सुरक्षा कोषमा नगए विज्ञापन एजेन्सीले सरकारी विज्ञापन नपाउने

 कात्तिक २१, २०७६ बिहिबार १८:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कडा निर्देशन दिएको छ । सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई सचेत गराउनु भएको हो । 

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उहाँले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको पनि स्पष्ट पार्नुभयो ।

बिहीबार काठमाण्डाैमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा बोल्दै प्रवक्ता भट्टराईले सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कुनै पनि संस्थाको नवीकरण नगर्ने तथा उनीहरुलाई सरकारबाट हुने कुनै पनि सेवा र सुविधासमेत नदिने तयारी गरिएको पनि बताउनुभयो ।

‘सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ’, प्रवक्ता भट्टराईले भन्नुभयो, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ ।’

यस्तै उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराउनु भयो ।

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ । कोषकी प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था पनि गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन सरकारले मंसिर १३ गतेसम्मको म्याद थपेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया