लेबनानको राजधानीमा इजरायलको ठूलो आक्रमण, ४ जनाको ज्यान गयो,...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आमसञ्चार तथा पत्रकारिता विषयको स्नात्तकोत्तर तह पढाइ हुने भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गत मानविकी तथा सामाजिक संकाय सुर्खेतले आउँदो माघदेखि पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा कक्षा सञ्चालन गर्न लागेको हो ।
सुर्खेतमै ‘डिग्री’ पढ्न पाइने भएपछि अब पत्रकारिता विषय पढ्न काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि स्नातक तह पढेका विद्यार्थी स्नात्तकोत्तर तह अध्ययनका लागि काठमाण्डौ आउनुपर्थ्याे।
आउँदो माघदेखि सेमेस्टर पद्धतिमा स्नात्तकोत्तर तहको पढाइ सञ्चालन गर्ने तयारी पूरा भएको विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका अध्यक्ष तथा उप-प्राध्यापक युवराज शर्माले जानकारी दिनुभयो ।
‘यसै वर्षदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता विषयको स्नातकोत्तर तह सञ्चालन गर्दैछौँ’, विश्वविद्यालयमा पत्रकारिताका अध्यापक समेत रहेका शर्माले भन्नुभयो, ‘सुर्खेतमै पढाइ हुने भएपछि अब ‘डिग्री’ पढ्न काठमाण्डौ जानुपर्ने बाध्यता हट्नेछ ।’
पत्रकारिता विषयको स्नात्तकोत्तर तहका लागि त्रिभुवन विश्वविद्यालय चर्चित छ । काठमाण्डौमा त्रिविको रत्नराज्य लक्ष्मी अर्थात आरआर क्याम्पसका साथै त्रिवि र काठमाण्डौ विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका अरु क्याम्पसमा पनि पत्रकारिताको स्नातकोत्तर तहकाे पढाइ हुने गरेको छ ।
तर उपत्यका बाहिर कर्णालीमा पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारिताको स्नातकोत्तर तह सञ्चालन गर्न लागेको उपप्राध्यापक शर्माले बताउनुभयो ।
‘अहिलेसम्म पत्रकारिता विषय पढ्न देशभरकै विद्यार्थी काठमाण्डौ आउनुपर्ने बाध्यता बाध्यता थियो’, उहाँले भन्नुभयो ।
खोज पत्रकार जन्माउने केन्द्र बनाउन विज्ञको सुझाव !
स्नातकोत्तर तह सञ्चालन गर्ने भएपछि विश्वविद्यालयले आमसञ्चार तथा पत्रकारिता विषयका विज्ञहरुसँग सुझाव पनि लिएको छ । बुधबार काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले खोज पत्रकार जन्माउने पाठ्यक्रम निर्माण र त्यसको प्रभावकारी पठनपाठन गराउन सुझाव दिएका छन् ।
विश्वविद्यालयले निर्माण गरेको स्नातकोत्तर तहको पहिलो र दोस्रो सेमेस्टरको पाठ्यक्रमबारे अन्तरक्रियामा छलफल तथा परामर्श भएको थियो । छलफलमा भाग लिएका सञ्चारविज्ञ तथा मिडिया हाउसका सञ्चालकले पाठ्यक्रम आधुनिक, प्रविधिमैत्री र खोज पत्रकार जन्माउने विशेषता समेटिएको प्रतिक्रिया दिएका थिए ।
तर यसका लागि सैद्धान्तिक भन्दा व्यवहारिक पठनपाठन गराउनुपर्ने उनीहरुको सुझाव छ ।
‘स्नातकोत्तर तहकाे कक्षा सञ्चालनका लागि पाठ्यक्रम निर्माण समिति’ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा पढ्नुपर्ने पाठ्यसामग्रीलाई परिष्कृत गरिएको बताउनुभयो ।
त्रिविका उपप्राध्यापक समेत रहेका अर्यालले पाठ्यक्रममा सैद्धान्तिकभन्दा व्यवहारिक कुरालाई व्यवस्थित पारिएकाले अब पत्रकारिता पढेका विद्यार्थीले समाचार मात्रै लेख्नेभन्दा खोजमूलक समाचार लेखेर उत्तरदायी पत्रकारिता गर्नसक्ने बताउनुभयो ।
‘अहिले पत्रकारिता पढेका विद्यार्थी जेनतेन समाचार लेख्छन्, ‘न्युजरुम’मा नछिरेसम्म समाचारको खाका मात्रै लेख्न सक्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निर्माण गरेको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक र खोज पत्रकारिता गर्न सक्ने क्षमता विकास गराउन सक्छ ।’
यस्तै प्राध्यापक रामकृष्ण रेग्मीले पाठ्यक्रम विशिष्ट बनेको भन्दै अन्य विश्वविद्यालयको पाठ्यक्रमभन्दा यो पाठ्यक्रमले बेग्लै पहिचान दिन खोजेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिताका विभागका प्रमुख प्राध्यापक चिरन्जीवि खनालले पाठ्यक्रमलाई विशिष्ट बनाउँदै विद्यार्थीलाई अनुसन्धानमा लगाउने गरी पाठ्यक्रमलाई थप परिष्कृत गर्नुपर्नेमा जोड दिनुभयो ।
‘अहिले पठनपाठन भइरहेको पाठ्यक्रम बजारको मागअनुसार ‘अपडेट’ हुन सकेको छैन’, खनालले भन्नुभयो, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो पाठ्यक्रम नयाँ, प्रविधिमैत्री र खोजमूलक छ, यसलाई बर्सेनि परिष्कृत गर्न आवश्यक छ ।’
यस्तै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सञ्चारविद डा.सुरेश आचार्यले ‘क्रेडिट आवर’, विषय ‘कोड नम्बर’मा पनि विश्वसनीय आधार कायम गर्दै विद्यार्थीलाई प्राज्ञिक बनाउनेतर्फ पाठ्यक्रमले निर्दिष्ट गरेको बताउनुभयो ।
यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मास्टर इन इन्टरनेशनल काेअपरेशन एण्ड डिभेलपमण्ट ‘एमआईसिडी’ अर्थात अन्तर्राष्ट्रिय सहकार्य तथा विकासकाे स्नातकाेत्तर कार्यक्रमका संयोजक डा.दिनेशचन्द्र भुजुले नयाँ पाठ्यक्रमले विज्ञान र प्रविधि क्षेत्रको पत्रकारितालाई पनि सघाउ पुर्याउने बताउनुभयो ।
‘नेपालमा पत्रकारिताको विकास बर्सेनि बढ्दो छ । अन्तराष्ट्रिय स्तरको पत्रकारिताको अभ्यास चलिरहेका बेला अझै पनि नेपालमा विज्ञान र प्रविधि क्षेत्रको पत्रकारितामा ध्यान पुगेको छैन’, नास्टका वैज्ञानिक समेत रहेका भुजुले भन्नुभयो, ‘नयाँ पाठ्यक्रमले विज्ञान तथा प्रविधि क्षेत्रको पत्रकारितामा पनि माथि उठ्ने विश्वास छ ।’
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन प्राध्यापक खोपीराम लम्साल, सहायक डीन कमलेश डिसी, एबिसी टेलिभिजनका सञ्चालक शुभशंकर कँडेल, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक भानुभक्त अधिकारी लगायतको उपस्थिति थियो ।
फस्टाउँदो ग्रामीण पत्रकारिता
पत्रकारिता अहिले पनि शहरमुखी छ । दूरदराजका अभाव र समस्याले मूलधारका सञ्चारमाध्यममा ठाउँ नपाएसम्म ती समाचार बन्दैनन् । बने पनि प्रभावकारी हुँदैनन् ।
तर सामाजिक सञ्जालको बढ्दो प्रयोगले दूरदराजका समाचार पनि प्रभावकारी बन्न थालेका छन् । अभाव, गरिबी, थिचोमिचो, अन्याय, अत्याचार तथा भ्रष्टाचारविरुद्ध चौतर्फी विरोध बढ्न थालेको छ ।
यस्तोमा मूलधारका मिडियामा काम गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने तीतो यथार्थ विस्तारै फेरिँदै गएको छ । मोबाइलले नै खिचेको पनि राम्रा फाेटाे तथा भिडियोहरु सामाजिक सञ्जालका कारण रातारात भाइरल बन्ने गरेका छन् । यस कारण सम्बन्धित निकाय जिम्मेवार मात्रै बनेका छैनन्, पत्रकारिताले गर्दा जवाफदेहिता पनि बढेको छ ।
यस्तो अवस्थामा गरिबी र अभावले वर्षौँदेखि पिछडिएको कर्णालीमा पत्रकारिताको उच्च शिक्षाले ग्रामीण पत्रकारितालाई थप टेवा दिने अपेक्षा गर्न सकिन्छ ।
कर्णालीका पहाडी तथा हिमाली जिल्लाका विद्यार्थी उच्च शिक्षाका लागि सुर्खेतसम्म त आउँछन् तर त्यताबाट काठमाण्डौसम्म आउन सक्दैनन् । आएपछि मूलधारका मिडियामा काम गरेका पत्रकार सितिमिति कर्णाली फर्किएर जाँदैनन् । जसका कारण ग्रामीण पत्रकारिता अझै पनि ओझेलमै छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिताको स्नातकोत्तर तहको पठनपाठनले पत्रकारितामा दक्ष जनशक्ति मात्रै होइन, कर्णालीमा जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालिकोटजस्ता जिल्लामा पर्याप्त मात्रामा शैक्षिक जनशक्ति उत्पादन हुने अपेक्षा गरिएकाे छ ।
‘राज्य पुनर्संरचना भएसँगै ग्रामीण पत्रकारिता फस्टाउन थालेको छ’, सुर्खेतबाट प्रकाशित हुने युगआह्वान दैनिकका पूर्व प्रधानसम्पादक समेत रहेका एमयूका उपप्राध्यापक शर्मा भन्नुहुन्छ, ‘कर्णालीमै पत्रकारिता विषयमा ‘डिग्री’ पढ्न पाएपछि अब ग्रामीण पत्रकारिलाई थप सहयोग हुनेछ । यसले दक्ष पत्रकार मात्रै होइन, हरेक स्कुल र कलेजमा पत्रकारिता विषय पढाउने जनशक्ति पनि उत्पादन हुनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।