शिक्षामन्त्री र निजी मेडिकल सञ्चालकबीच शुल्क फिर्ताबारे निर्णायक छलफल चल्दै

 मंसिर १०, २०७६ मंगलबार २०:९:३० | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै - विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल सञ्चालकबीच निर्णायक छलफल सुरु भएको छ ।

यसअघि अतिरिक्त शुल्क समायोजन मात्रै गर्न सकिने तर फिर्ता गर्न नसकिने बताएपछि शिक्षामन्त्री पोखरेलले गृह मन्त्री रामबहादुर थापासँग छलफल गर्नुभएको थियो । निजी मेडिकल कलेज सञ्चालकले शुल्क समायोजन गर्न सकिने ध्येयसहितको प्रतिबद्धता शिक्षामन्त्री सामु गरेका थिए ।

तर मन्त्री पोखरेलले समायोजन गर्न सकिने ‘झारा टार्ने’ प्रतिबद्धता स्वीकार गर्न नसकिने बताएपछि मेडिकल कलेज सञ्चालकहरु फेरि आन्तरिक छलफल र सहमति गर्न भन्दै  सिंंहदरबारबाट बाहिरिएका थिए ।

यसबीचमा अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजमाथि तत्कालै ठगी मुद्दा चलाएर कारबाही गर्ने शिक्षा र गृहमन्त्रीको तयारी छ । गृह मन्त्रालयमा भएको छलफलमा ठगी मुद्दा चलाउने अन्तिम तयारी रहेको छलफलमा सहभागीहरुले बताएका छन । तर लचिलो बनेर शुल्क फिर्ता गर्न तयार भए सहमति गर्ने आन्तरिक तयारी छ ।

शिक्षामन्त्री र गृहमन्त्रीको चेतावनी र ठगी मुद्दा अघि बढे पक्राउ परिने भएपछि मेडिकल कलेज सञ्चालक शुल्क फिर्ता गर्ने सहमतिसहित शिक्षा मन्त्रालयमा निर्णायक वार्तामा बसेका हुन ।

यसअघि सरकारले शुल्क फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको थियो । तर पनि गम्भिर नबनेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार साँझ २४ घण्टे अल्टिमेटम दिएपछि निजी मेडिकल कलेज सञ्चालक अतिरिक्त शुल्क फिर्ता गर्न लचिलो बनेका छन् ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेल, त्रिविका उपकूलपति धर्मकान्त बाँस्कोटा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र निजी मेडिकल कलेज सञ्चालक सुरेश कनोडियो, बसरुद्दिन अन्सारी, सुनिल शर्मा लगायत छन् ।


 

अन्तिम अपडेट: चैत ७, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया