महिला भलिबल : एकै पटक भारतलाई हराउने र सागमा स्वर्ण जित्ने सुवर्ण अवसर !

 मंसिर १७, २०७६ मंगलबार १३:४८:४५ | लक्ष्मण कार्की
unn.prixa.net

काठमाण्डौ - १३औँ दक्षिण एसियाली खेलकुद (साग) औपचारिक रुपमा सुरु भएको पहिलो दिन नै नेपालको खातामा २४ पदक जम्मा भए ।

पहिलो दिन नै नेपालले १५ स्वर्ण जित्यो । दोश्रो दिन पनि खेल सुरु भएदेखि नै पदक थपिने क्रम सुरु भइसकेको छ । तेक्वान्दो र कराँते समावेश भएपछि नेपालले धेरै पदक जित्ने आशा गरिएकै भए पनि यत्तिका धेरै सायद सोचिएको थिएन कि !

खैर, देशले धेरै पदक जितेको कुराले सबैलाई खुशी दिने नै भयो । अझै थपिने पदकहरुले त्यो खुशीको आयतन झनझन लम्ब्याउने छन् नै । स्वर्णको लहर चलिरहेका बेला नेपालले मंगलबार महिला भलिबलमा स्वर्णको दाबेदारी पेस गर्दैछ । पुरुष टिम समूह चरणबाटै बिदा भएको सन्दर्भमा महिला टिमले दक्षिण एसियाको च्याम्पियन बन्न भारतसँग फाइनल खेल्दैछ ।

फाइनल प्रवेश गरेर कम्तीमा रजत पदक निश्चित गर्दा नै अहिलेसम्म नपाएको सफलता चाखिसकेको नेपाली भलिबलको महिला टिम स्वर्ण चुम्दै एकातिर दक्षिण एसियाको च्याम्पियन बन्ने र अर्कोतिर भलिबल राष्ट्रिय खेल हुनुको मर्म र गरिमा राख्न भगिरथ प्रयत्न गर्नेछ । पहाडी र हिमाली भेगको बाहुल्य रहेकाले नेपालको ‘माटो सुहाउँदो’ खेल भनिए पनि भलिबल खास चर्चामा कहिल्यै आएन ।

फुटबल र क्रिकेटको लोकप्रियताको चेपमा परेर होस वा जुनसुकै कारणले राष्ट्रिय खेल भइसक्दा पनि भलिबल मुर्झाउन सकेको छैन । यस्तो बेला महिला टिमले भने सुखद संकेत दिइरहेको छ । यसको पछिल्लो उदाहरण हो एभीसी सेण्ट्रल जोनको स्वर्ण पदक ।

भारतको ह्याङ्ग हटाउने अवसर

भर्खरै एभीसी सेण्ट्रल जोनको उपाधि जितेपछि नेपाली चेलीहरुले आफ्नो सामर्थ्य देखाइसकेका छन् । तर सागको उपाधि जित्नका लागि नेपालले भारतलाई हराउनुपर्नेछ । र यो चानचुने कुरा होइन । समूह चरणमा भारतसँग ३-० को सेटमै पराजित हुनु परेपछि यो निकै कठिन कुरा हो भन्ने पुष्टि पनि भएकै छ । सेण्ट्रल जोनको प्रतियोगितामा भारत थिएन ।

अहिलेको नेपाली महिला भलिबल टिम इतिहासकै सर्वाधिक राम्रो लयमा छ । सागमा भारतसँग समूह चरणमा ३-० कै सेटमा हारे पनि भारतकै हाराहारीको टिम मानिने श्रीलंकालाई ३-० ले नै हराउँदै आफू कम नभएको जवाफ दिइसकेको छ ।

नेपाली भलिबलसँग वर्षौँदेखि सँगै रहेका प्रशिक्षक कुमार राई नेपालले श्रीलंकासँगको भन्दा पनि राम्रो खेल्ने ल्याकत रहेको बताउनुहुन्छ । राइकै क्लब न्यू डायमण्डकै उत्पादन रहेका तीन खेलाडी प्रतिभा माली, सलिना श्रेष्ठ र रेश्मा भण्डारी अहिलेको राष्ट्रिय टिममा छन् । घरेलु मैदानमा भारतलाई हराउन केही कुरामा ध्यान दिनुपर्ने राईको सुझाव छ ।

भारतीय खेलाडीको उचाइ र उफ्रने क्षमता (जम्प रिच) तथा स्पिड पनि राम्रो भएकाले  त्यसमा ध्यान दिनुपर्छ । उनीहरुले जहाँबाट पनि सट हान्न सक्ने क्षमता राख्ने भएकाले त्यसलाई ख्याल गर्नुपर्छ । खेलाडीलाई एक एक फोकस गरेर इन्डिभिजुल ब्लकमा ध्यान दिनुपर्छ । हाम्रो मिडिल ब्लकर एकदमै चनाखो अनि स्पाइक, डिफेन्स र हिटलाइन चुस्त हुनुपर्छ । उनीहरु स्पिडमा खेल्ने भएकाले हाम्रो पनि स्पिड बढाउनुपर्छ ।

फुटबल र भलिबलमा भारतको सँधै दबदबा रहँदै आएको छ । अझ महिला फुटबल र भलिवलमा त नेपालको अवस्था ‘दक्षिण एसियाका सबै देशलाई हराउने तर भारतसँग हार्ने’ भनेजस्तो रहँदै आएको छ । खेलाडीहरु नै भन्छन्, हाम्रो खेल भारतको भन्दा कम्तीको छैन, तर भारतसँग खेल्दा के हुन्छ हुन्छ ? यो सायद मनोविज्ञानको कुरा पनि हो ।

प्रशिक्षक जगदीश भट्टले नेपाली टोलीको दिमागबाट यही कुरा हटाउन सक्दो कोसिस गरिरहेका छन् । श्रीलंकालाई हराएपछि प्रशिक्षक भट्टको विश्वास झनै बढेको छ । भन्छन्,‘श्रीलंका भारत हाराहारीकै टिम हो, अस्ति भर्खर उसले भारतसँग पाँचौ सेटमा हार बेहोरेको हो भनेपछि हामी भारतलाई हराउन सक्दैनौँ भन्ने कुरै होइन नि ।’ 

हुन पनि यही सागमा भारतसँग एक सेट जितेको श्रीलंकाको टिमलाई नेपालले एक सेट पनि जित्न नदिइ हराएकै हो । फाइनल खेलबारे प्रशिक्षक भट्टको भनाइ छ, ‘हामीसामु त दुई अवसर एकैपल्ट आएका छन्, एकातिर सागमा स्वर्ण जित्ने र अर्कातिर भारतलाई हराउने ।’ हुन पनि भारतलाई हराउनु आफैमा कुनै पदकभन्दा कम होइन नेपाली खेलकुदमा खासगरी भलिबल र फुटबलमा ।

प्रशिक्षक भट्टको पनि स्वीकारोक्ति छ कि भारतलाई हराउने ऐतिहासिक अवसर पूरा गर्न नेपाली टिमले केही गल्ती सुधानैपर्छ । के–के कुरा सुधार्नुपर्छ त ? खेलाडीको मनोबल बढाउन र हौसला दिन माहिर मानिने प्रशिक्षक भट्टले त्यसको पनि लेखाजोखा गरिसकेको र त्यसैअनुसार तयारी गरिएको बताउँछन् ।

नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी तथा नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष विरेन्द्र खड्का पनि श्रीलंका र नेपालको खेल हेरेपछि नेपाल दक्षिण एसियाको च्याम्पियन बन्न योग्य रहेको निष्कर्षमा पुगेका छन् ।

‘महिला टिमको खेल नहेरेको धेरै भएको थियो’, खड्का भन्छन्, श्रीलँकासँगको खेल कोर्टमै गएर हेरेँ, नेपालले धेरै नै राम्रो खेलेको हो ।’ ‘भारतीय खेलाडीलाई हाइटको एडभान्टेज छ र उनीहरुको टिम पनि बलियो छ’, खड्काको भनाइ छ, तर नेपाली टिम हतोत्साही नहुने हो भने भारतलाई कडा टक्कर दिनेमा शंका छैन ।’ भारतसँग खेल्दा नेपालले ब्लकमा विशेष ध्यान दिनुपर्ने र केही अंकले पछि परे पनि हतोत्साही हुन नहुने खड्काको भनाइ छ ।

हेरौँ, घरेलु कोर्ट र दर्शकबीच नेपाली महिला भलिबल टिमले संघारमै रहेको यो दोहोरो अवसरलाई कत्तिको सदुपयोग गर्न सक्छ ।  

महिला भलिबलतर्फको फाइनल दिउँसो चार बजे हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया