निगमको ग्वाङ्जाओ उडान निश्चित

 मंसिर १८, २०७६ बुधबार ६:४३:१७ | रासस
unn.prixa.net

काठमाण्डौ – छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ । लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स)ले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो ।

निगमले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको छ । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको बताइएको छ ।

निगमको ग्वाङ्जाओ उडान निश्चित भएको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो । ‘लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको छ, अब निगमको जहाज चीनको ग्वाङ्जाओ शहरमा उड्ने निश्चित भएको छ । चिनियाँ सिभिल एभिएसनले आजै फोन गरेर उडानको सङ्केत दिएको छ, आज साँझसम्म इमेलमार्फत औपचारिक पत्र पनि आउनेछ’, उहाँले भन्नुभयो ।

चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेको थियो । चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्ष र ‘अपरेसनल मेनुअल’ लाई प्राथमिकतामा राखेर निगमलाई आन्तरिकरूपमा प्रश्न उठाएको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र स्वीकृतिबमोजिम यी दुवै चासोको सम्बोधन गर्दै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो । उक्त प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि चिनियाँ एभिएसनले निगमलाई उडान अनुमति दिएको निगमको भनाइ छ । निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाङ्जाओ उडानका लागि ‘स्लट’ पाएको बताइएको छ ।

यसअघि निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भइ आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।

ग्वाङ्जाओ व्यवसायिक उडानका लागि निगमको कार्यकारी समितिले छिट्टै निर्णय गर्नेछ । उक्त गन्तव्यको उडानबारे निगमको सञ्चालन र आर्थिक विभागको समन्वयमा निगम कार्यसमितिले केही दिनभित्रै निर्णय लिने निगमका सह–प्रवक्ता मिश्रले बताउनुभयो ।

एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि पछिल्लो समय चीन र नेपालबीच हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरूप निगमको ग्वाङ्जाओ उडान सुनिश्चित भएको जनाएको थियो । यो गन्तव्यमा निगमले सातामा तीन दिन उडान गर्नेछ । 

निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको छ । यसअघि निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको बताउनुभएको थियो । उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । चीनमा गन्तव्य विस्तार गर्ने क्रममा हिमालयले यही मङ्सिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान शुरु गरिसकेको छ । कम्पनीले चीनका अन्य थप चार गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

निगमले जापानको नारिता उडान अनुमति पायो

निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति पाएको छ । यो गन्तव्यमा उडान सञ्चालनका लागि निगमले भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) सेवा पाएको छ । ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको सह–प्रवक्ता मिश्रले जानकारी दिनुभयो । निगमले नारिता उडान गर्न ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ । नारितामा उडान गर्ने योजना बनाएको निगमले ग्राउण्ड ह्याण्डिलिङ सेवा नपाउँदा नारिता उड्ने योजना अनिश्चित बनेको थियो ।

निगमले अहिले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) अन्तर्गतकै ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको छ । धेरै व्यस्तताका कारण निगमलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्थाले नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको सह–प्रवक्ता मिश्रले बताउनुभयो । उहाँले निगम र जेक्याबबीच हालै भएको सम्झौताले निगमले तोकेकै समयमा नारिता उडान गर्ने बताउनुभयो ।

नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।

गएको भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया