१३औँ साग : कुस्तीकाे तेस्राे दिनमा भारतलाई ४, श्रीलंकालाई २ र पाकिस्तानलाई १ स्वर्ण

 मंसिर २२, २०७६ आइतबार १८:१९:५२ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - जनकपुरधाममा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताको तेश्रो दिन विभिन्न ७ तौल समूहको खेलमा भारतले ४, श्रीलंका २ र पाकिस्तानले १ स्वर्ण पदक हालिस गर्न सफल भएका छन् ।

नेपालले तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमध्येको खेलमा २  रजत र २ काँस्य पदक पाएकाे छ ।

पुरुषतर्फ ६१ किलो तौल समूहमा भारतका रविन्द्रले स्वर्ण, पाकिस्तानका मो. बिलालले रजत र श्रीलंकाका उदराले काँस्य पदक जितेका छन् भने ८६ किलोग्राम समूहमा भारतका पवन कुमारले स्वर्ण, पाकिस्तानका उमर अहमदले रजत र बंगलादेशका श्रीश्रोत रायले रजत पदक जितेका छन् ।

त्यस्तै ९२ किलोग्राम समूहको खेलमा पाकिस्तानका मो. इनामले स्वर्ण, श्रीलंकाका सलिथाले रजत र नेपालका समिर शाहले काँस्य पदका हात पारेका छन् ।

महिलातर्फ ५९ किलो समूहमा भारतकी अंशुले स्वर्ण, बंगलादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले काँस्य, ६२ किलोग्राम समूहमा भारतकै साक्षी मलिकले स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर सरमिनले काँस्य पदक जित्न सफल भए ।

यसैगरी ६५ किलो ताैल समूहतर्फ श्रीलंकाकी दिलहानीले स्वर्ण, नेपालकी शुशिला चन्दले रजत र बंग्लादेशकी मोस लक्कीले काँस्य पदक जित्न सफल भए ।यसका साथै ७२ किलो ताैलसमूहतर्फ श्रीलंकाकी अयोमीले स्वर्ण, नेपालकी निर्मलाले रजत र बंगलादेशकी अख्तर रोजिनाले काँस्य हात पारे।

विजयी प्रतियोगीहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानन मन्त्री ज्ञानेन्द्र यादव, प्रदेश सभा सदस्य मन्जु यादव र रामसरोज यादव तथा पाकिस्तानका कुस्ती सचिव अब्दुल शेख लगायतले पदक प्रदान गर्नुभयाे ।

गएकाे तीन दिनदेखि जनकपुरधाममा जारी कुस्तीको १८ खेलमध्ये भारतले १२, पाकिस्तानले ३, श्रीलंकाले २ र नेपालले १ स्वर्ण पदक जित्न सफल भएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया