साग समापन समाराेहमा प्रधानमन्त्रीकाे विशेष सम्बाेधन, पदक विजेता खेलाडीलाई प्राेत्साहन प्याकेजकाे घाेषणा गर्ने

 मंसिर २३, २०७६ सोमबार २०:५४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक समापन मंगलबार हुँदैछ । डिसेम्बर १ तारिखदेखि औपचारिक रुपमा काठमाण्डौ, पोखरा र जनकपुरमा आयोजना भएको सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागिता जनाए ।

प्रतियोगितामा १९८४ देखि सुरु भएको सागकै इतिहासमा सर्वाधिक २६ खेलका २८ इभेन्ट समावेश गरिए । उद्घाटन जस्तै समापन समारोह पनि भव्य गर्ने तयारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । मंगलबार हुने समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नु हुनेछ ।

अस्वस्थताका कारण उद्घाटन समारोहमा उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्री स्वस्थ भएर सरकारी निवास फर्किसक्नु भएकाे छ । तर उहाँ रंगशालामा भने उपस्थित नहुने राखेपले जनाएकाे छ । उहाँले ‘भिडियो कन्फ्रेन्स’ मार्फत सम्बोधन गर्ने राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयाे ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्नु हुने बताउनु भएको हो । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणासमेत गर्नुहुने सदस्य सचिव सिलवालले जानकारी दिनुभयो ।

समापन समारोहलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका साथै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव सिलवालले पनि सम्बोधन गर्ने छन् ।

समापन समाराेहमा १४औं सागको आयोजना गर्नका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिने छ । १४औं साग पाकिस्तान गर्ने निर्णय भइसकेको छ । पाकिस्तानले २ वर्षभित्र प्रतियोगिता आयोजना गर्ने गरी झण्डा लिन लागेको हो ।

उद्घाटनमा जसरी नै समापन समाराेहमा पनि झण्डासहित मार्चपास हुने छ । मार्चपासपछि आतिसबाजीसहित प्रतियोगिता सम्पन्न हुने छ ।

समापनका अवसरमा मंगलबार पुरुष फुटबलको स्वर्ण पदकका लागि भिडन्त हुने छ । दिउँसो ३ बजे नेपाल र भुटानले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ । फुटबल सकिएपछि समापनको समारोह सुरु हुने छ ।

यसैगरी मध्यान्ह १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि गर्ने तयारी गरिएको छ ।

समापनका दिन कार्यक्रम स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ । त्यहाँ भीभीआईपी, भीआईपी, पत्रकार, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने व्यवस्था हुनेछ ।

समापनकै दिन फुटबल प्रतियोगिताको फाइनल भएकाले फुटबल हेर्नका लागि दुई हजार र एक हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागी हुन सकिनेछ । उत्तरतर्फ १२ हजार जना अट्ने प्यारापिटका लागि ८ हजार टिकट मात्र बिक्री गरिएको छ । ती टिकटहरु बिक्री भैसकेका छन् ।

समापनका दिन सुरक्षा र पासमा पनि कडाइ गरिनेछ । अत्यावश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचपयपत्रसँगै आ-आफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित व्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन ।

समापनको संघारमा आइपुग्दा नेपाल ऐतिहासिक ४९ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया