पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई आज चीन पठाइँदै

 पुस २३, २०७६ बुधबार ९:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई मङ्गलबार चीन पठाउने तयारी गरिरहेकाे छ ।

४२ जनालाई पहिलो समूहमा चाइनाइस्टन एयरको विमानबाट दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकी अरुलाई ६ बजेर ५५ मिनेटमा साउदन एयरवेजबाट चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पाैडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले दुर्व्यवहार मुद्दामा एक हजार रुपैयाँ जरिबाना लिएर छाड्ने आदेश दिएसँगै कारबाहीको जिम्मेवारी अध्यागमन विभागमा पुगेको थियो । विभागले उनीहरुको भिसा अनुसन्धान गर्दा दुरुपयोग नभएको देखिएको र प्रहरीको अनुसन्धानले पनि ठूलो अपराध नगरेको देखाएकोले चीन पठाउन लागिएको विभागका महानिर्देशक पौडेलले बताउनु भयो ।

 

विभागले उनीहरुको भिसा रद्द गरिदिएको छ । यस्तै चिनियाँ दूतावासले उनीहरुको राहदानी पनि रद्द गरिदिएको छ । उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि कालोसूचीमा राखिएको पनि अध्यागमन विभागले जनाएको छ ।

उनीहरुलाई चीन पठाउन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको विभागका महानिर्देशक पौडेलको भनाक्ष छ । उनीहरुलाई चीन लैजान विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् ।

उनीहरु गएको पुस ७ गते काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ परेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया