प्रदेश १ सरकारकाे तयारी : फागुन १ गतेदेखि सुर्तीजन्य पदार्थ र पत्रुखानामा प्रतिबन्ध

 पुष २६, २०७६ शनिबार ९:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - प्रदेश १ सरकारले स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत आउँदाे फागुन १ गतेदेखि प्रदेशका सबै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ । त्यस्तै प्रदेशका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा पत्रुखानाको प्रयोगमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग रोक्ने र विद्यालयभित्र पत्रुखाना प्रयोगलाई पतिबन्ध लगाईने बताउनुभयाे । कानुन बनेको लामो समय भइसकेको अवस्थामा पनि ऐन कार्यान्वायनमा नगएकाले त्यसलाई फागुन १ गतेदेखि कडाईकासाथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेले बताउनुभयाे ।  

स्वास्थ्य जीवन प्रवर्द्धन अभियान अन्तर्गत प्रदेश १ मा २० वर्ष उमेर समूहमाथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एक पटक परीक्षणपछि उनीहरुलाई पटक पटक परीक्षणका लागि  प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ । त्यस्तै चिनी राेग र क्यान्सको परिक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान पुर्‍याउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिनुभयाे ।

विद्यालय संचालकहरुसँग भएको छलफलसँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको सुरुवात गर्ने तयारी भएकाे छ ।  

समस्यामा विद्यालय संचालक

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको छलफलका क्रममा विराटनगरका निजी विद्यालय संचालकहरुले सुर्ती, चुरोट तथा गुट्खाका कारण निकै समस्या भएको सुनाए ।

यस्ताे पदार्थकाे सेवनबाट बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरुको भनाई छ । सेन्टजोसेफका रोहित थपलियाले विद्यालयको १ सय मिटरमा कुनै पनि सुर्ती तथा सुर्तिजन्य पदार्थ बिक्री नगर्न भन्दासमेत व्यवसायीले नटेर्ने गरेको गुनासो गर्नुभयाे । प्रदेश सरकारले नियमन र नियन्त्रण गर्ने हो भने वर्ष भरी नै ऐनले व्यवस्था गरेअनुसार सार्वजनिक स्थलकाे नियमित अनुगमन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयाे । 

कलेज संचालक अमित ढकाल र सिएम रिजालले विद्यालय आसपासका एक सय मिटरमा सुर्ती, चुरोट र मादक पदार्थ बेच्नै नपाउने कानुनी व्यवस्था भए पनि अहिले बिक्री वितरण भइरहेको बताउनुभयाे ।

‘कानुनले बेच्न नपाउने भनेको छ तर अहिले पनि बेचबिखन भईरहेको अवस्थामा नियन्त्रण र नियमन गर्न सकिन्छ भने ठिकै छ अभियान चलाऔँ हैन भने एकदिनको लागि देखाउन र प्रचारमा आउन कार्यक्रम नगर्दै राम्रो हुन्छ,’ ढकालले भन्नुभयाे ।

कलेज र विद्यालयसँग जोडिएका चिया पसलमा विद्यार्थीहरु स्कुल तथा कलेज ड्रेसमै गएर गाँजासमेत सेवन गर्ने गरिएको छलफलको क्रममा कुरा उठेको छ  । अब चिया पसल र किराना पसलमा कुनै पनि सुर्तिजन्य पदार्थ बिक्री बितरण गर्न नपाउने व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन सहभागीले सुझाव दिएकाे थिए ।

पत्रकार सुवास कार्की, हाेस्टल संचालक बिक्रम देवले ट्राफिक चोक आसपासका चिया पसलहरुमा साना उमेरका विद्यार्थीहरु चुरोट सेवन गर्ने धेरै देखिने गरेको बताए । होस्टल संचालक देवले सबैभन्दा धेरै विकृती होस्टलहरुमा हुने गरेको स्वीकार गरे । मदिरा, चुरोट सेवन गर्ने तथा होहल्ला गरेर बिकृती फैलाउने काम होस्टलहरुले गर्ने गरेको उनको आरोप छ ।

पोखरीया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले सुर्तीजन्य पदार्थको कारोबार र ओसारपासारमा बालबालिकाकाे प्रयाेग हुने गरेकाे भन्दै त्याे राेक्ने वातावरण बनाउनु पर्ने बताउनुभयाे ।  

छलफलका क्रममा शिक्षकहरु नरहरी कोईराला र गीता ढकालले विद्यालयमा चुरोट किन्न नजानु भनेर सिकाए पनि अविभावकले बालबालिकालाई नै चुराेट किन्न पठाउने गरेकाे पाइएकाे बताउनुभयाे । अभिभावक स्तरमै चेतना पुर्‍याउन जरुरी रहेको उनीरुको भनाई छ ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया