राम्रो कामको प्रशंसा गर्ने मन र मुटु भएका सम्पादक नै छैनन् – प्रधानमन्त्री ओली

 माघ १, २०७६ बुधबार ७:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नु भएको छ ।

नेपाल चेम्बर अफ् कमर्सका व्यवसायीहरुसँग सोमबार भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नुभयो । 

‘हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैन । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता कामकाे प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस्, बिग्रिन्छस् भन्छन् ।सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन्’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।

सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस बेवारिसे नभेटिने उल्लेख गर्नु भयो । 'पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाइँ गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाण्डौका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रबन्ध मिलाइएको छ ।’

उहाँले थप्नुभयो, ‘मान्छेहरु सडकमा लडिरहेका हुन्थे, झिँगा भन्किरहेको हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकमा छैनन् । उनीहरुलाई सडकबाट उठाएर हामीले प्रबन्ध मिलाएका छौँ । नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन । ठग बेघरलाई घर पठाइ दिने र साँच्चिकैको बेघरको प्रबन्ध सरकारले गर्दै आएको छ ।’

उहाँले हेर्दा यी साना कुरा लागे पनि सामाजिकरुपमा यसले धेरै अर्थ राख्ने बताउनु भयो । तर यस्ता विषयमा सञ्चारमाध्यमले ठाउँ नदिएको भन्दै उहाँले गुनासो गर्नुभयो । 

प्रधानमन्त्री ओलीले आफूले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भए पनि अहिले काम भइरहेको स्मरण गर्नुभयो । 'मैले जहाजका कुरा गरेँ, पूर्व–पश्चिम रेलका कुरा गरेँ, उत्तर–दक्षिण रेलका कुरा गरेँ, अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ ।

पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन विशाखापटनम, मुम्बई, पूर्व–पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौता गरेका छौँ । धेरै नाकाहरु खुलिसकेका छन्’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया