तराई–मधेशमा आज पनि तातो हावा चल्ने
बैशाख १२, २०८२ शुक्रबार
कास्की - तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगमा रहेकाे सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।
पर्याप्त जलाशयका कारण त्यस क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम बर्सेनि बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी बर्सेनि घट्दै जानु चासो र चिन्ताको विषय बनेको छ ।
विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा अचेल पाहुना चरा आउनेक्रम घटेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो ।
जलपक्षी गणनामा पाहुना चराको सङ्ख्या न्यून पाइएको छ । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उहाँको भनाइ छ ।
चराबारे कलम चलाउँदै आउनुभएका पत्रकार कृष्णमणि बरालका अनुसार प्रत्येक हिउँदमा जाडो छल्न साइबेरिया, मङ्गोलिया, तिब्बतलगायतका स्थानबाट पोखरा र आसपासका तालमा चरा आउँछन् ।
पाँच-सात वर्षअघिसम्म मङ्सिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा अचेल कम हुँदै गएको उहाँले बताउनुभयो । विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको स्थानीयवासी बताउँछन् ।
सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको स्थानीय हरिराम आचार्यले जानकारी दिनुभयो ।
‘पहिला खोला आसपासमा धेरै प्रजातिका चरा तथा पानी चरा पाइन्थे’, उहाँले भन्नुभयो, ‘अहिले ती चरा देख्न त के आवाज सुन्न पनि मुस्किल भएको छ ।’ विगतमा ठूलै सङ्ख्यामा देखिने गरिएको हुटिट्याउँको आवाज पछिल्ला वर्ष सुन्न रहर हुने गरेको उहाँले जानकारी दिनुभयो ।
संरक्षणको अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछा लगायतका जलचरमा कमीजस्ता कारणले चरा घटेको अनुसन्धानकर्ताको तर्क छ ।
ताल आसपासमा विगतमा भन्दा अचेल चरा निकै घटेको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले बताउनुभयो । रुपातालमा दशकअघिसम्म पाइने दाह्रे र सेतोहाँस अहिले पाउन छोडिएको छ ।
स्थानीयवासीले दाह्रे हाँसलाई ‘रजहाँस’ भन्छन् । साइबेरिया लगायतका स्थानबाट आउने चरा भने वर्षेनी कम हुँदै गएको बताउँदै उहाँले बर्डफ्लुको सङ्क्रमणका कारण साइबेरिया लगायतका स्थानमा ठूलो सङ्ख्यामा चरा मारिएका कारण पनि उनीहरूको आउनेक्रम कम भएको हुनसक्ने धारणा राख्नुभयो ।
यसअघि २०७४ को हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ । अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरामा कमी आएको देखाएको छ । विगतमा ठूलो सङ्ख्यामा आउने कर्याङकुरुङ पछिल्ला वर्षमा देखिन छोडेका छन् भने हुटिट््याउँ पनि कताकति देखिन थालेको छ । त्यस्तै पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायतका चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ ।
पोखरा पक्षी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासका क्षेत्रमा लामो समयको चरा अध्ययनलाई समेटेर लेखिएको सचित्र पुस्तकमा पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइने उल्लेख छ ।
विश्वमा नेपालमै मात्रै पाइने काँडेभ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने र पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।