पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – वाग्मती प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएकाे छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको वाग्मती प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गएकाे पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर नै बिदा हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिनुभयो ।
काठमाण्डाै उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उहाँले बताउनु भयो । गृह मन्त्रालयले गएकाे वैशाखमा प्रकाशन गरेको राजपत्रअनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहने छन् ।
केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । त्यही अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।
६ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ । राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । राजपत्रको खण्ड 'ग' मा काठमाण्डाै उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार हुनेछ भनि उल्लेख गरिएको छ ।
काठमाण्डाैमा बिदा हुन्छः कानुन मन्त्री
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताउनु भएको छ । मन्त्री जम्कट्टेलले काठमाण्डाै उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट पार्नुभयाे ।
उहाँले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हाेसार) का अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भनि गरेको निर्णय अनिवार्य लागू हुने बताउनु भयो । 'यो वा त्यो जिल्ला होइन, प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका (काठमाडौँ) पनि वाग्मती प्रदेशभित्रै पर्छ', उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।