नेपाल कसैका लागि प्रयाेगशाला बन्दैन, देश र जनताकाे अहित हुने कुरामा सम्झाैता हुन सक्दैन : मन्त्री भट्टराई

 माघ १५, २०७६ बुधबार ७:४:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताउनु भएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुर सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उहाँले भन्नुभयो, 'नेपाललाई सधैँ प्रयोगशाला बनाइनु हुँदैन । नेपाल कसैका लागि प्रयोगशाला बन्दैन ।' 

उहाँले देशको समृद्धिका लागि सबै राजनीतिक दल एक ढिक्का भइ अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि बहानामा देशलाई फेरि अशान्ति र द्वन्द्वतिर नलान आग्रह गर्नुभयो । मन्त्री भट्टराईले भन्नुभयो, 'देशको समृद्धि र हितका निम्ति हामी सबै एकताबद्ध छौँ । देश र जनताको अहित हुनेमा कुनै पनि दातृ निकायसँग हाम्रो सम्झौता हुन सक्दैन ।' 

मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेश आफैमा महत्वपूर्ण र ऐतिहासिक प्रदेशको रूपमा रहेको बताउनु भयाे । 'सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको छ । नेपालले हिमाल, पहाड, तराईलाई समेटेझैँ सुदूरपश्चिम प्रदेशले तीनै क्षेत्रलाई समेटेको छ । यसले सुदूरपश्चिमको मौलिकता झल्काउँछ', उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले टीकापुर विमानस्थल सञ्चालन गर्न सङ्घले माग गरेको एकसूत्रीय मागपत्र ग्रहण गर्दै जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भयो । उहाँले विमानस्थल सञ्चालनका लागि छिमेकी पालिकाले समेत सहकार्य गर्न कुरा गरेकोमा धन्यवाद दिँदै केही दिनभित्रै प्राविधिक टोलीमार्फत विमानस्थलको अध्ययन गरी आवश्यक काम अगाडि बढाइने बताउनु भयो ।

मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउँदै आएकोमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकका लागि सबै पालिकालाई आफ्नो क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार पारी सङ्घीय सरकारसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया