‘कोरोना भाइरसबाट आत्तिनुपर्ने अवस्था छैन’, नेपालमा यसरी भयो पुष्टि

 माघ १५, २०७६ बुधबार ७:३१:१८ | रासस
unn.prixa.net

काठमाण्डाै – चीनको हुवान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस एक जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सङ्क्रमित व्यक्ति हुवान प्रान्तबाट आएका नेपाली हुन् ।

एक जनामा देखिए पनि सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा 'हेल्थ डेस्क' स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाण्डाै, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनु भयो । 'कोही आत्तिनुपर्ने अवस्था छैन तर पनि सङ्क्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ ।' श्रेष्ठले भन्नुभयो ।

सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु नपर्ने उहाँले बताउनु भयो । सङ्क्रमण दर बढन् सक्ने आशङ्कामा निगरानी बढाइएको र बढ्ने अवस्था देखिएमा त्यसको सामना गर्न आवश्यक तयारी भइरहेको सरकारले जनाएको छ । 

विमानस्थलबाट आउने सबै व्यक्तिको ज्वरोको जाँच सुरु गरिएकाे छ र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ । स्वास्थकर्मीलाई आवश्यक प्रशिक्षण दिन थालिएको छ । 

नोवेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । सुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले पुष्टि गरिसकेको छ । 

कोरोना भाइरस विभिन्न सात प्रकारका छन् । सन् २००३ मा चीनमा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरमा भने नोवेल कोरोना भाइरस देखिएको हो । यसलाई '2019,N-cov' नाम दिइएको छ । 

मुख्य लक्ष्यण

नोेवेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरूको निगरानी गर्ने जस्ता उपाय अपनाउनु पर्नेमा चिकित्सकको जोड छ । 

यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनु पर्छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् । 

विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक कमिटीको यही जनवरी २२ र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रूपमा घोषणा गरेको छैन । यसलाई मध्यम तहको भनेर घोषणा गरेको छ ।

सङ्गठनको तथ्यङ्कअनुसार दुई हजार सात सय ९८ जनामा भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहेक नेपालसहित ११ देशमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनमा दुई हजार सात ४१ जना छन् भने बाँकी अन्य देशका छन् । अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघिसकेकाे जनाइएको छ । 

चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कति समयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन भैसकेकाे छैन । कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बढी सङ्क्रमण फैलिएको चीनको हुवान प्रान्तमा एक सय ९० जना नेपाली रहेको तथ्याङ्क छ । जसमध्ये सय जना सम्पर्कमा आइसकेका छन् । अन्यलाई पनि 'वी च्याट ग्रुप' वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । 

सन् २००२ मा चीनमा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि सन् २००३ मा विश्व स्वास्थ्य सङ्गठनले गर्‍याे । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकोमा सात सय ७४ को ज्यान गएकाे थियो । जसले गर्दा मृत्युदर बढी भयाे । 

सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरियामा पनि यस्तै प्रकारकाे भाइरस देखिएको थियो । 

नेपालमा यसरीे भयो पुष्टि

हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफै ओपीडीमा सामान्य उपचार गर्न पुगेका थिए । उनको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको हङकङमा रहेकाे प्रयोगशालामा पठाइएको थियो । परीक्षणमा उनीमा नोवेल कोरोना भाइरस पुष्टि भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. विवेकलालले जानकारी दिनुभयो । 

उनी अहिले घर फर्किसकेका छन् । उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको डा. विवेकलालले जानकारी दिनुभयो । उनी नेपालमा गएकाे पुस १६ गते चिकित्सकको सम्पर्कमा आएका थिए । पुस २८ गते भर्ना भएकोमा माघ ९ गते भाइरस रहेको पुष्टि भएको थियो ।

अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीन जनामा भने भाइरस नरहेको पाइएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने डा. रुना झाले अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको जानकारी दिनुभयाे ।  

अर्का चिकित्सक डा. अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुवैकाे रोक्ने तरिका पनि उस्तै उस्तै भएकाे बताउनु भयाे । नियमित हात धुने, बिरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने, सङ्क्रमित व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुनेलगायतका उपाय अपनाउन उहाँले सबैलाई सुझाव दिनु भएको छ । 

सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उहाँले सङ्क्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रूपमा उपचार गराउँदा हुने बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले समयमै स्वास्थ्य संस्थामा जाँच गराउनु पर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया