पाेल गाडेकाे ६ वर्षपछि बत्ती बल्याे

 माघ १६, २०७६ बिहीबार १०:३९:२५ | रासस
unn.prixa.net

चितवन – इच्छाकामना गाउँपालिका १ हात्तीवाङमा विद्युतको पोल गाडेको ६ वर्षपछि बिजुली बलेको छ ।

धादिङ जिल्लाबाट तार विस्तार गरेर हात्तीवाङमा बिजुली बालिएकाे हो । सांसद कृष्णभक्त पोखरेलले विद्युतीकरणको शुभारम्भ गर्दै बाँकी रहेका क्षेत्रमा पनि छिट्टै बिजुली पुग्ने बताउनुभयाे ।   

प्रदेश सभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमार गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरण धादिङ जिल्ला वितरण केन्द्रका प्रमुख ध्रुव कार्कीले विद्युतीकरण सेवा विस्तार गरिँदै लैजाने जानकारी दिनुभयो । 

याे क्षेत्रमा विसं २०७१ मा विद्युत्को पोल गाडि २०७२ सालमा तार टाँगिएको थियो । मुख्य विद्युत् लाइन जोड्न समस्या भएपछि काम रोकिएको थियो ।

तत्कालीन समयमा त्यही क्षेत्रबाट निर्वाचित सांसद पोखरेलले विद्युतीकरणका लागि ३५ लाख रुपैयाँ संसद् विकास कोषबाट सहयोग गर्नुभएको थियो । उहाँका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पुगेर याे क्षेत्रमा विद्युत् विस्तार गर्न पहल गरिएको थियो । अहिले ६० घरमा बिजुली बलेको छ । याे वडामा ६ सय ४३ घरधुरी रहेका छन् । अब क्रमशः विद्युत् लाइन विस्तार गर्दै लगिने जनाइएको छ । 

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार वडा नम्बर २ मा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएको छ । बाँकी विद्युतीकरणका लागि ६ करोड २० लाख रुपैयाँ बोलपत्र आह्वान भैसकेको छ । त्यस्तै वडा नम्बर ३, ४ र ५ मा पूरै र वडा नम्बर ६ मा आधा र ७ मा ८० प्रतिशत विद्युतीकरण भएको जनाइएको छ ।

वडा नम्बर ६ मा असारसम्ममा विद्युतीकरण भइसक्ने र वडा नम्बर ७ को बाँकी उपर दाङगढी क्षेत्रमा विद्युतीकरणका लागि प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।

याे गाउँपालिका मुग्लिन बजारसहित जिल्लाको विकट पहाडी क्षेत्रमा पर्छ । गाउँपालिकाको विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या २५ हजार १२ रहेको थियो । याे क्षेत्रमा बहुसङ्ख्यक चेपाङ समुदाय बसोबास गर्छन् । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया