पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – एउटा सरकारी कार्यालयका कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले कति सम्पत्ति आर्जन गर्ला? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यति ठूलो कमाइ त के गर्ला र ?
तर, मालपोत कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै झण्डै नौ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा यस्ताे देखिएको हाे ।
आयोगका अनुसार काठमामाण्डौको चाबहिलमा रहेको मालपोत कार्यालयका तत्कालीन सहयोगी राजेन्द्र बस्नेतले झण्डै नौ करोड रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ ।
आयोगले बिहीबार अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धान अनुसार बस्नेत र उहाँको परिवारको नाममा रु नौ करोड ७३ लाख ३१ हजार बराबरको सम्पत्ति देखिएकामा झण्डै आठ करोड ९८ लाख रुपैयाँ बराबरको सम्पत्तिको वैध स्रोत खुल्न नसकेको पाइएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपित बस्नेतलाई कैद र बिगोबमोजिमको जरिबानाको माग गर्दै मुद्दा दायर गरिएको हो ।
आयोगले भ्रष्टाचार गरी कमाएको रकम जफत गर्न समेत माग गरेको छ । आयोगका अनुसार कार्यालय सहयोगी बस्नेतको ७४ लाख ७३ हजार ३७३ रुपैयाँ मात्रै वैधानिक रुपमा आर्जन गरेको पाइएको छ ।
मालपोतमा कार्यालय कार्यालय सहयोगीको रुपमा काम गर्ने बस्नेतको जीवनयापन अस्वाभाविक रहेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा उनको अवैध आय फेला परेको हो ।
आयोगका प्रवक्ता कोइरालाका नुसार कार्याअलय सहयोगी बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए ।
आयोगले सेवा प्रवेशदेखि गएकाे वर्षसम्मको आय तथा खर्चको समेत विश्लेषण गरेको छ । बस्नेतले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाख रुपैयाँ बराबरको घरजग्गा खरिद गरेको, आमाको नाममा ६२ लाख ९० हजार रुपैयाँको घर निर्माण गरेको देखिएको छ ।
मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्नेतले नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्नेलगायत गैरकानुनी काम गरेको पाइएको छ।
यस्तै, शुक्लगण्डकी तन प्रहरी निरीक्षक अरुणकुमार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा बिहीबार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ । हुँको कुमारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक शारदा अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।
यस्तै नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायणप्रसाद साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यसैगरी नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक धिरेन्द्रकुमार शाहीलाई पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ ।
उता जिल्ला हुलाक कार्यालय बाँकेका तत्कालीन खरिदार निर्मलाकुमारी केसीको शैक्षिक योग्यता नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।