'जलवायु परिवर्तनको असर नेपालकाे सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको छ'

 माघ २६, २०७६ आइतबार १५:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ ।

आइतबार काठमाण्डाैमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर नेपालकाे सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको सिधा असर वनस्पति, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको छ । खाद्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाइँसराइ गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ ।’

उहाँले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको बताउनुभयो । जलवायु परिवर्तन हुनुमा विकसित राष्ट्रहरुको भूमिका बढी भए पनि त्यसको सबैभन्दा बढी असर नेपाललगायतका देशहरुमा परेको बताउनुभयो ।

उहाँले हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकोले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मुख्य एजेण्डा बनाइएको प्रस्ट पार्नुभयाे । मन्त्री पाेखरेलले नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभाबी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताउनुभयो । उहाँले अन्तरनिकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री ज्ञवालीले जलवायु परिवर्तन न्यूनिकरणमा नेपाललको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने दाबी गर्नुभयाे । 

उहाँले आउँदाे अप्रिल २ देखि ४ सम्म काठमाण्डाैमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत बताउनुभयो ।

साथै उहाँले सगरमाथा संवादमा विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागी हुने बताउनुभयो । सगरमाथा संवाद प्रत्येक २/२ वर्षमा आयोजना गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया