फोन नउठाउँदा प्रेमीले गरे प्रेमिकाको हत्या !

 माघ २६, २०७६ आइतबार २०:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिका १२ मलहनुवाकाे पश्चिम रिङरोड नजिकै उखुबारीमा एक जना महिलाको शव भेटिएको खबर प्रहरीमा आयो ।

माघ २४ गते शुक्रबारको दिन थियो । बिहान झण्डै ९ बजे स्थानीयले प्रहरीलाई दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको कमाण्डमा टोली घटनास्थलतर्फ गयो ।

घटनास्थलमा पुगेको प्रहरीले बाँसघारी पश्चिम उखुबारीमा घाटी रेटेर फालिएको अवस्थामा एक महिलाको शव फेला पार्‍याे । 'घाटीमा सल बेरिएको, बाँया हातमा बीएस लेखिएको' अवस्थामा शव भेटिएको प्रहरी बताउँछ ।

तत्काल शवको कुनै पहिचान नखुलेपछि प्रहरीले महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी सञ्चार, टेलिभिजनलगायतका सञ्चारमाध्यमबाट हुलियासहित सार्वजनिक गर्‍याे । 

सबै सञ्चारमाध्यममा तस्बिर सार्वजनिक भएपछि त्याे शव सुनसरी दुहवी नगरपालिका ६ काे कालीमन्दिर चोक बस्ने वसन्त परियारकी श्रीमती ३२ वर्षीया सम्झना खत्री परियार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी जानकारी दिनुभयो । त्यही सार्वजनिक भएको हुलियाका आधारमा घटना भएको ठाउँमा नै उनका श्रीमान् आएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रेम सम्बन्ध हत्याको कारण

शुक्रबार घाँटी रेटिएको अवस्थामा फेला परेकी महिलाको बारेमा प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकाे थियो । यही क्रममा प्रहरीले एक जना व्यक्तिलाई समेत पक्राउ गर्न सफल भयो ।  

प्रहरीको प्रारम्भिक अनुसन्धानको आधारमा सप्तरी जिल्लाको कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढा घर भइ बूढीगङ्गा गाउँपालिका ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर इञ्चार्जकाे रुपमा कार्यरत २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका साह र मृतक सम्झनाबीच गएकाे तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो । उनीहरुबीच विभिन्न समयमा सम्पर्क र सम्बन्ध भएको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा साहलाई सार्वजनिक गरेको हो ।

यसरी भयो सम्झानाको हत्या

माघ २१ गते मङ्गलबारको दिन थियो । मृतक सम्झना खत्री परियार बिहान झण्डै १० बजेदेखि सुरेन्द्र साहको सम्पर्कमा थिइनन् । सुरेन्द्र साहले मृतक सम्झना खत्री परियारलाई पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि सम्पर्कमा आइनन् । 

प्रहरीका अनुसार दिउँसो १२ बजे सम्झनालाई भेट्नको लागि साह दुहवी नै पुगेका थिए । घरमा कोही नरहेको र ताल्चा लगाएकाे देखेपछि सुरेन्द्र साहले छिमेकीलाई साेध्दा सम्झना बिहानै घरबाट निस्किएको भनि जानकारी दिएका थिए । छिमेकीको त्यस्तो जवाफ सुनेपछि साह फेरि फ्याक्ट्रीमा फर्किएर काम गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

अपरान्ह ४ बजे साह फेरि सम्झना खत्री परियारलाई खोज्न निस्किए । त्यही क्रममा साहले बाँसबारी चोक अगाडि सम्झनालाई भेटे र आफ्नो मोटरसाइकलमा चढाएर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ लगेको र विराटनगर महानगरपालिका १२ काे मलहनुवा रिङरोड छेउमा बसेर उनीहरुले कुराकानी गरेको समेत प्रहरीले जनाएको छ ।

कुराकानीकै क्रममा दुई जनाबीच आपसमा झगडा हुँदा आवेगमा सुरेन्द्र साहले सम्झनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि मृतक सम्झानाकै सल घाँटीमा बेरेर साहले तान्दै उखुबारीमा लगेर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

घटनाको विषयमा सम्झना खत्री परियारलाई आफूले नै मारेको भन्दै साहले बयानसमेत दिएको प्रहरीले जनाएकाे छ । मृतक सम्झना खत्री परियारलाई घटनास्थलसम्म बोकेर लगेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया