सीमा क्षेत्रका व्यापारीहरुलाई प्रहरीले दुःख दिन्छ : राजपा सांसद कर्ण

 माघ २९, २०७६ बुधबार १५:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यापारीहरुलाई प्रहरीले दुःख दिने गरेको आराेप लगाउनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भए पनि प्रहरीले २५ किलोमिटर भित्रबाटे समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले बोर्डरका पसलहरु बन्द भएका छन् । भ्याट तिरेर सदरमुकामबाट यी सामानहरु लिएर बोर्डरको पसलमा जान्छन् । २५ किलोमिर भित्रै प्रहरीले समात्छ र मुचुल्का सीमामा समातेकाे भनेर बनाउँछ । व्यक्तिले झूटाे बोल्ला, ठगी गर्ला, डाँका गर्ला तर राज्यले २५ किलोमिटर भित्र समातेर किन बोर्डरबाट समातेकाे भन्नु?’

नेपालमा कानुनी शासनको कुरामा मात्र सीमित रहेकाे उहाँको भनाइ छ ।

भारतबाट ल्याएको भन्दै जीतपुरबाट आएका भैँसी भन्सारमा लगेर प्रहरीले दुःख दिने गरेको उहाँले बताउनुभयो । ‘‘भैंसीको नागरिकता भए देखाउँथे होला, भारतीय होइन नेपाली हो भनेर । यो भारतीय भैँसी लिएर आयो भनेर भन्छ तर प्रमाण के त ? भारतीय भैसी लिएर आयो भने बोर्डरमा समात्नु । भित्र आइसकेपछि यो भारतीय भैंसी भनेर भन्सारमा बुझाउने ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपड बहादुर रावलले छुवाछूत उन्मुलन गर्न दलित समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज जन्मेका बालबालिकाहरुले जातिय उत्पीडन र छुवाछुत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभावका विरुद्ध राष्ट्रिय जागरण अभियान सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को लोकप्रिय नारा अघि सारेको भए पनि जनताले ‘समृद्ध नेता, दुःखी नेपाली’ को महसुस गरिरहेको बताउनुभएको छ ।

सुखी नेपाली हुनलाई तीन करोड जनता, सबै जाति, धर्म, र लिंगका मानिसहरु सुखी हुनुपर्ने उल्लेख गर्दै उनले दलित अयोग, दलित विकास समितिहरुलाई विघटन गर्ने निष्कर्षमा सरकार जानु दुःख भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दलितका कुरा व्यापक रुपले गर्ने तर दलितका संस्थाहरु दलितको उत्थान र विकासका लागि सरकार नकारात्मक हुँदै जाने र लोकसेवा आयोगको कोटाहरु काट्दै जाने काम भएको छ ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया