डिजिटल क्षेत्रलाई वैधता दिन सूचना प्रविधि विधेयक ल्याइएकाे हाे : मन्त्री बाँस्कोटा

 फागुन २, २०७६ शुक्रबार १५:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले डिजिटल क्षेत्रलाई वैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताउनुभएको छ । 

क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले डिजिटल क्षेत्रको पारदर्शिता, सुशासन र यसको वैधताका लागि विधेयक ल्याइएको बताउनुभयो । विधेक पारित नभए डिजिटल कारोबारले वैधता नपाउने समेत उहाँले बताउनुभयाे ।

विद्युतीय कारोबार ऐनभन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भए पनि त्यस्तो कुराहरु कसैले नहेर्ने गरेको आरोप लगाउनुभयो । विधेयकमा दण्ड जरिबाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बाँस्कोटाले भन्नुभयो, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो, चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शिता र सुशासन आएको नहेर्ने ?’

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारबाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर ब्याख्या भइरहेको बताउनुभयो । हल्ला गर्नेहरुले निजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बाँस्कोटाले भन्नुभयो, ‘जिस्काएबापत सजाय हुने भन्ने कुरामा यत्राै हैरानी ? हैरानी गर्न पाइन्छ । कस्ताे कल्चर हो यो ? कसलाई हैरानी गर्ने, आफ्नालाई हैरानी गरे त ठिकै छ । अंगालो मारे पनि राम्रै हो । अर्कालाई हैरानी गर्न गराउन थालियो भने दनक नखाए के खाने ?’

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघकाे आयोजनामा फागुन ७ गतेसम्म चल्ने सूचनाप्रविधि सम्बन्धी प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया