सगरमाथा र 'शेर्पा' ले नेपाललाई विश्वमा चिनाएका छन् : सभापति देउवा

 फागुन ४, २०७६ आइतबार ८:१:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७औँ ग्याल्बो ल्होसारका अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आग्रह गर्नुभयो ।   

'सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ, काङ्ग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनर्स्थापना हुन्छ', सभापति देउवाले भन्नुभयो ।

तेञ्जिङ नोर्गे शेर्पालाई पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेकै कारण विश्वमा धेरैले चिन्ने गरेकाले त्यसप्रति गर्व गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सांसद जीपछिरिङ लामाले सरकारले आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था गरिरहेको बताउँदै केही सञ्चारमाध्यम भने सरकारका गलत क्रियाकलापको पनि संरक्षण गरेर प्रमुख प्रतिपक्षीको समाचार सम्प्रेषण नगर्ने गरेको बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत भूकम्पपछि भत्किएका गुम्बा पुनर्निर्माणमा भेदभाव गरेको सांसद लामाकाे आरोप थियो ।   

वाग्मती प्रदेशसभा सदस्य निमा लामाले काङ्ग्रेस नेतृत्वको सरकारकै पालामा जनजातिलाई सूचीकृत गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको गठन भएको स्मरण गराउँदै वर्तमान सरकारले भने ग्याल्बो ल्होसारका अवसरमा एक दिन दिइएको सार्वजनिक बिदासमेत कटौती गरेर भेदभावपूर्ण व्यवहार गरेको बताउनुभयो । 

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले भने ग्याल्बो ल्होसारका दिन नगर क्षेत्रभर सार्वजनिक बिदा दिने प्रतिबद्धता जनाउनुभयो । नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष खिलनाथ दाहालले शेर्पा जातिको सम्मान गरेमात्र नेपालमा पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।   

कार्यक्रममा संविधानसभाका पूर्वसदस्य पासाङ शेर्पा, काङ्ग्रेस सिन्धुपाल्चोक र दोलखाका सभापति क्रमशः विकास लामा र रुद्रबहादुर खड्का, पार्टी महासमिति सदस्य विमल ठकुरी र आङनिमा शेर्पा, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, आयोजक सङ्घका सभापति थाक्पा छिलिङ शेर्पालगायतका वक्ताले ग्याल्बो ल्होसारको बिदा पुनर्स्थापना गर्न माग गर्नुभएको थियो ।
 
कार्यक्रममा सांसद लामा, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र अखिले नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई उहाँहरुले क्रमशः संविधानसभामार्फत् संविधान निर्माण, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रमा पुर्‍याउनुभएको योगदानका लागि सभापति देउवाले सम्मानसमेत गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया