गोदावरी नगरपालिकाका सत्ताइस सहकारी ‘झोला’मा

 फागुन ६, २०७६ मंगलबार १७:३८:२९ | रासस
unn.prixa.net

ललितपुर - गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका १ सय २८ मध्ये २७ सहकारी हाल झोलामा रहेका पाइएकाे छ । 

त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकण्ठ घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्ष २०७५-७६ भित्र गोदावरीमा रहेका कुल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक-एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।’

गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उहाँले बताउनुभयो । 

गोदावरीमा सहकारी शिक्षाको तालिम 

गोदावरी नगरपालिका–१, गोदामचौर र २ विशङ्खुमा आजदेखि सहकारी शिक्षासम्बन्धी तालिम दिइएको छ ।

शाखाले सहकारी साक्षरतासम्बन्धी जानकारी दिने उद्देश्यले तालिम प्रदान गरेको हो । तालिममा शाखाप्रमुख र सहकारी विज्ञले सम्पत्ति शुद्धीकरण, सहकारी एकीकरण, कोपोमिस र सहकारी नेतृत्व तथा व्यवस्थापनबारे शिक्षा दिने घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस तालिममा हामीले यी दुई वडाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिवार्य रुपमा उपस्थित भनेका छौँ ।’ शाखाले बाँकी रहेका अन्य वडाका सहकारी सञ्चालक र प्रतिनिधिलाई समय मिलाएर तालिम दिने घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया